Breaking

राजनैतिक भागबन्डा नमिल्दा सधै विवादमा बाणगंगाको शुद्धोधन मावि


काठमाडौँ — विद्यालय जस्तो पवित्र स्थानमा राजनैतिक भागबन्डा हुदा कपिलवस्तुको वाणगंगा ९ स्थित श्री शुद्धोदन जन जीवन मा.वि वर्षाैँ देखि व्यवस्थापकिय पक्ष नेतृत्व बिहिन छ । कक्षा १२ सम्म संचालनमा रहेको सामुदायिक विद्यालय राजनीतिक भागबन्डा नमिले कै कारण व्यवस्थापन समिति बिहिन भएको हो । पटक पटक विद्यालय व्यवस्थापन समिति गठनका लागि बैठक तथा भेला आह्वान गरेता पनि समितिले पूर्णता पाउन सकिरहेको छैन । विद्यालय व्यवस्थापन समिति गठनका लागि आह्वान गरिने भेलाले समितिका सदस्यको टुङ्गो लगाउँछ तर मुख्य पद (अध्यक्ष) चयन गर्न सक्दैन ।

कारण दलगत राजनीतिक दाउपेच । वडा भित्र क्रियाशिल मुख्य राजनीतिक दलका अगुवाहरुका आ आफ्ना दाबी र बिरोधका कारण लामो समय देखि विद्यालय नेतृत्वबिहिन बनिरहेको हो । यसपटक असार २६ गते बोलाईएको अभिभावक भेलामा अभिभावकको गणपुरक संख्या नपुगेको भन्दै उक्त भेला बिना निश्कर्ष स्थगित गरिएको थियो । यस पछि पुनः साउन ६ गते शुक्रबार अर्काे भेला तथा बैठक आह्वान गरियो । तर सो बैठकमा अभिभावकको गणपुरक संख्या पुगेता पनि भागबन्डा नमिल्दा समितिले पुर्णता पाउन सकेन ।

विद्यालय व्यवस्थापन समितिको म्याद सकिएको झण्डै ६ वर्ष भन्दा बढी भइसक्दा समिति गठन हुने र विद्यालयले नयाँ नेतृत्व पाउने आशामा बसेका अभिभावक निराश हुँदै फर्किए । अघोषित रुपमा विद्यालयमा वडा भित्रका दलहरुले चरम राजनीति गरिरहेका कारण यो समस्या आएको स्थानीयको तर्क छ । वडा भित्रका विभिन्न दलले आफु निकटका व्यक्ति समितिमा हुनुपर्ने भन्दै लबिङ गरिरहेका छन् ।
यस अघिको पाँच वर्षे कार्यकालमा वडा अध्यक्ष रहेका धुव्र बेल्वासेले जेनतेन विद्यालय अभिभावक संघको गठन गरेका थिए ।

उनले समेत पटक पटक भेला आहवान गरे पनि व्यवस्थापन समितिले पुर्णता पाउन सकेको थिएन । यसपटक वडा अध्यक्ष रहेका कमल पौडेलले आफ्नो कसरत गरिरहेका छन् । उनको यो जोडबल र कसरत पसिना निकाल्ने खेल मात्रै हुने संकेत देखिएको छ । वडामा क्रियाशिल मुख्य राजनितिक दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र, सहित साना दलहरु जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपाले आफु निकटका व्यक्ति समितिमा पर्नुपर्ने भन्दै जोडबल गरिरहेका कारण यस पटक पनि समितिले पूर्णता पाउने सम्भावना कमजोर बनिरहेको छ ।

तत्कालका लागि शुक्रबार बसको भेलाले ४ सदस्यको टुङ्गो लगाएको छ । तर अझै समितिका लागि आवश्यक दुई सदस्य र ती सदस्यहरुबाट अध्यक्षको चयन हुन सकिरहेको छैन ।
यस्तै विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा गोपाल बेल्वासे चयन भएका छन् । बेल्वासे विद्यालय जग्गादाता समेत हुन् ।

यता व्यवस्थापन समितिको अध्यक्षमा नेपाली कांग्रेसका वडा सभापति रहेका भुवनेश्वर पौडेल र नेकपा एमालेका पुर्व वडा कमिटि अध्यक्ष बिन्द्र बहादुर गुरुङबिच रस्साकस्सी छ । दुबैले आफ्नो अडान नछड्दा विद्यालयले व्यवस्थापन समिति पाउन सकेन । यता ५ वर्ष विद्यालय व्यवस्थापन समिति गठन नहुदा पुर्व वडाध्यक्ष ध्रुव बेल्वासेले अध्यक्षको काम कारबाही गर्दै आएका थिए ।