विदेश

म्यानमारमा सैन्य अधिकारीद्वारा चार जना प्रजातन्त्रका अभियान्तालाई मृत्युदण्ड


काठमाडौँ — म्यानमारका सैन्य अधिकारीले चार जना प्रजातन्त्र अभियान्तालाई आतंकवादी कार्यु गर्न मद्दत गरेको आरोपमा मृत्युदण्ड दिएका छन् । पछिल्ला दशकमा म्यानमारमा मृत्युदण्डको दिइएको यो पहिलो घटना हो । गत जनावरीमा बन्द ढोकामा गरिएको सुनुवाइमार्फत उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । चारै जनालाई गत वर्ष एउटा विद्रोहमा सत्ता कब्जा गर्ने उद्देश्यले सेनासँग लड्न मिलिसियाहरूलाई सहयोग गरेको आरोप लगाइएको थियो ।

साथै आफ्ना विरोधीहरूमाथि रक्तपातपूर्ण कारबाही गरेको पनि उनीहरूमाथि आरोप थियो । मृत्युदण्ड दिइएको मध्येमा प्रजातन्त्रवादी अभियान्ता जिम्मी भनेर चिनिने क्याव मिन यु र पूर्वसांसद तथा हिप(हप कलाकार फ्यो जेया थाउ रहेको ग्लोबल न्यू लाइट अफ म्यानमारले जनाएको छ ।

५३ वर्षीय क्याव मिन र ४१ वर्षीया जेया थाउले गत जुनमा सजायविरुद्धमा अपिल गरेका थिए। जेया थाउ म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका सहयोगीसमेत हुन् । मृत्युदण्ड पाउने अरु दुई जनामा ह्ला म्यो आङ र आङ थुरा जाव रहेका छन् । चारै जनालाई आतंकवाद विरोधी कानून र दण्ड संहिता अन्तर्गत अभियोग लगाइएको थियो । असिस्टेन्स एसोसिएसन अफ पोलिटिकल प्रिजनर्स (एएपीपी) ले म्यानमारमा अन्तिम न्यायिक मृत्युदण्ड सन् १९८० को दशकमा भएको बताएको छ ।

गत महिना सैन्य प्रवक्ता जाव मिन टुनले मृत्युदण्डको बचाउ गर्दै यो धेरै देशमा प्रयोग भएको बताएका थिए। फ्यो जेयर थाउकी श्रीमती थाजिन न्युन्ट आङले आफ्नो पतिको मृत्युदण्डको बारेमा आफूलाई नभनेको बताइन् । एजेन्सी