देश

मन्त्री राईको गाडीलाई ट्राफिक प्रहरीले तिरायो जरिवाना


काठमाडौँ — ललितपुरको जाउलाखेलस्थित निषेधित क्षेत्रमा पार्किङ गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।

बा २२ च २५८३ नम्बरको निजी गाडीलाई ‘नो पार्किङमा’ पार्क गरेको भन्दै जाउलाखेलस्थित ट्राफिक वृत्तले एक हजार रूपैयाँ जरिवाना लगाएको हो । आज बिहान ट्राफिक प्रहरी जवान सुरेद्न सिंह धामीले मन्त्री राईको गाडीलाई जरिवाना लगाएका हुन् ।

यो गाडीको प्रयोगकर्तामा ‘माननिय मोहम्मद इश्तियाक राई’ लेखिएको छ । गाडीमा संघीय संसद सचिवालयले सांसद राईलाई संघीय संसद भवन प्रवेश गर्न दिएको पत्रसमेत टाँस गरिएको थियो । उक्त गाडीमा मन्त्री राई भने भए वा नभएको खुलेको छैन । सवारी आवागमन बाधा पर्ने गरी पार्किङ गरिएको सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।