Breaking

एक महिना अघिको एन्फामा विवाद, अहिलेसम्म बस्न सकेन दोस्रो कार्यसमितिको बैठक

योहो संवाददाता

काठमाडौँ — एन्फामा नयाँ नेतृत्व आएको महिना दिन बितिसक्यो । तर आन्तरिक विवादका कारण नयाँ नेतृत्वले पहिलो महिना कुनै उपब्धिमुलक काम र्गा सकेन । जसकारण नयाँ नेतृत्वसँग केही आश राखेका फुटबल प्रेमीछोटो समयमै निराशा बनेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्व कार्यसमितिमा आएको पनि महिना दिन बितिसक्यो । असार ६ गते कर्मा शेर्पालाई विस्थापित गर्दै एन्फा नेतृत्वमा आएका पंकजविक्रम नेम्वाङको नेतृत्वले अहिलेसम्म दोस्रो कार्यसमितिको बैठक पनि सम्पन्न गर्न सकेको छैन । निर्वाचित नयाँ कार्यसमितिको आगमनसँगै सारा नेपाली फुटबल प्रेमीहरुले एन्फामा शुभ संकेत देखाएको विश्लेषण गरेका थिए । तर, त्यो विश्लेषण महिना दिन पनि टिक्न नपाउदै एन्फाले गलत सावित गरिदियो । र फेरि सुरु भयो एन्फामा चल्ने परम्परागत समस्या पदाधिकारीबीचको मनमुटाव र विवादको ।

आजभन्दा ठ्याक्कै एक महिनाअघि एन्फा नयाँ नेतृत्वमा विवादको जड सुरु भयो । असार ६ मा निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई ८ गते शपथ खुवाउने भन्दै एन्फा मुख्यालयमा बोलाइएको थियो । तर, पूर्व जानकारी विना नै बैठक राखि महासचिव, कोषाध्यक्ष र विदेश विभाग प्रमुखमा क्रमश किरण राई, रवीन्द्र जोशी र नवीन पाँडेलाई मनोनीत गरेपछि विवादको सुरुवात भएको थियो । जसले एन्फा कहिल्यै विवाद मुक्त हुन नसक्ने संदेश दिएको छ । के साच्चिकै एन्फा विवादमुक्त हुनै चाहदैन त ?

विवादको मुख्य कारण थियो, नेपाली मुलका जर्मनी नागरिक नवीन पाँडेलाई विदेश विभाग प्रमुखमा मनोनीत गर्नु । एन्फा विधानको धारा २४ (३) क मा गैर नेपाली मनोनीत हुने नपाइने व्यवस्था उल्लेख छ । त्यसै अनुसार कार्यसमितिको पहिलो बैठकले गरेको निर्णय नै विधान विपरीत भएको भन्दै एन्फाको आलोचना सुरु हुन थाल्यो ।नयाँ नेतृत्व कार्यसमितिको दोस्रो बैठक साउन २ गते बोलाइएको थियो ।

तर, अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएको भन्दै अन्तिम समयमा स्थगित गरि ५ गतेका लागि मिति तोकियो । यसअघि १२ वटा एजेण्डामा छलफल हुने बताइए पनि ६ वटा थपेर १८ एजेण्डा बनाइएको थियो । यद्यपि, समयमै एजेन्डा पठाएर, सदस्यहरूले चाहेअनुसारका एजेन्डा थपेर सबैखाले प्रक्रिया पूरा गरिएको बैठकमा ९० प्रतिशतभन्दा माथिको उपस्थितिका बावजुत पनि बैठक सुरु नभइकनै स्थगित हुनु सबैका लागि दुखद् पक्ष हो ।

पदाधिकारी मनोनयन लगायतका विभिन्न विषयमा छलफलहरु चल्ने क्रममा जुन सौहार्दपूर्ण वातावरणमा बैठक सञ्चालन हुनुपर्ने हो, त्यो हुन सकेको छैन । जसले गर्दा कार्यसमितिको बैठक नै अन्योलमा परेको छ । समय त्यसै पनि खेरा गइरकेको छ । एन्फाले गर्नु पर्ने कामको लिस्ट निक्कै लामो छ, जसमा पूर्ण कार्यसमिति गठन पनि पर्छ । कार्यसमितिमा आफ्नो मान्छेलाई मनोनीत गर्न सर्वसम्मत नजुटेर भइरहेको ढिला सुस्तिले एन्फाले बनाउने क्यालेन्डर पनि प्रभावित हुन सक्छ । आफ्नो स्वार्थका कारण यसरी देशकै फुटबललाई धरासायी पार्ने अधिकार कसैलाई छैन । आफूले चाहेको व्यक्ति छुट्ने भयो भन्दैमा फुटबललाई गौण राखेर स्वार्थपूर्तिमा मात्रै लाग्नु कदापि स्वीकार्य छैन ।