Breaking

प्रधानमन्त्री देउवाका ज्वाइँ एसएसपीमा बढुवाका लागि सिफारिस


काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाइँ दिपेन्द्र कुँवर प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी मा बढुवाका लागि सिफारिस भएका छन् । दुई नम्बर ज्येष्ठतामा क्रममा राखेर आइतबार गृह मन्त्रालयले उनलाई बढुवा गरेको हो । हाल १ नम्बरमा बढुवा भएका प्रविण कँडेल नेपाल प्रहरीबाट स्थान्तरण भएर आएका अधिकृत हुन् ।

त्यसैले कुँवर आफ्नो ब्याचमा एक नम्बरमा उक्लिएका छन् । कुँवर कायममुकायम एसएसपी र प्रहरी उपरीक्षक एसपी हुँदा ११ नम्बरमा थिए । सशस्त्र प्रहरी निरीक्षकका रुपमा भर्ना हुँदा पनि उनी ७५ जनामा अन्तिम पाँचमा थिए । स्रोतका अनुसार उनलाई १ नम्बरमा बढुवा सिफारिस गर्न गृहमन्त्री बालकृष्ण खाण पनि सकरात्मक थिएनन् । तर बालुवाटारको दबावमा उनी शीर्ष स्थानमा बढुवा सिफारिसमा परेका हुन् ।

कुँवरलाई कामु एसएसपीबाट एसएसपी बनाउन गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको नियमावलीलाई नै संशोधन गरेको थियो । सशस्त्र प्रहरी नियमावली, २०७२ मा सशस्त्र प्रहरी सेवामा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्ने प्रावधान थियो ।

तर कुँवरको चार वर्षे अवधि पूरा नभएकाले यसलाई घटाएर तीन वर्ष कायम गरिएको थियो । कुँवरलाई कामु एसएसपी बन्न बाधा हुने भएपछि यसअघि लामो समयसम्म बढुवा नै रोकिएको थियो । हाल सशस्त्र प्रहरी बलमा प्रहरी नायब महानिरीक्षक डीआईजीको तीन दरबन्दी रिक्त छ । त्यसमा कुँवरलाई बढुवा गर्ने गरी हाल एसएसपीमा पहिलो नम्बरमा राखिएको सशस्त्र प्रहरीका एक उच्च अधिकृत बताउँछन् ।