चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको राष्ट्रपतिमा विक्रमासिंघे निर्वाचित भएसँगैश्रीलंका शासकीय व्यवस्थासुरु भएको छ । साथै, असहज परिस्थितिमा निर्वाचित भएको विक्रमासिंघेलाई नेतृत्व सम्हाल्नुका साथै मुलुकलाई आर्थिक संकटबाट माथि उकास्नु पर्ने चुनौती पनि खडा भएको छ ।
केही हप्ताअघि श्रीलंकाको राष्ट्रपति भवन आम सर्वसाधारणको मनोरञ्जनस्थल नै बनेको थियो । त्यहाँका शासकहरु भागेपछि मानव आन्दोलनको एक हुल राष्ट्रपति भवनमै रमाइलो गरिरहेका थिए ।
आर्थिक संकटबाट मुलुक गम्भीर रसातलमा पुगेका बेला श्रीलंकाको भविष्य के होला भन्ने चिन्ताका बिच त्यहाँको शासन सम्हाल्न नेयाँ नेतृत्व जिम्मेवारीमा आएको छ । आर्थिक रूपमा ध्वस्त श्रीलंकालाई सहज अवस्थामा फर्काउन र महिनौं लामो विरोध प्रदर्शनपछि बिग्रिएको शासन सुव्यवस्था पुनःस्थापित गर्नश्रीलंकाका सांसदहरूले बुधबार नयाँ राष्ट्रपतिमारनिल विक्रमासिंघेलाई निर्वाचित गराए ।
विक्रमासिंघे राष्ट्रपति भएसँगै श्रीलंका नीतिगत र शासकीय रुपमा पहिलेकै अवस्थामा फर्किएको छ । यद्यपि, नेतृत्वविरुद्धको आन्दोलन भने अझै पनि रोकिएको छैन । जनतासामू अलोकप्रिय विक्रमासिंघे यसअघिका राष्ट्रपति गोटावाय राजपाक्षे पक्षीय नेता भएको भन्दै उनको पनि विरोध जारी छ । आर्थिक संकट आउनमा विक्रमासिंघे पनि त्यत्तिकै जिम्मेवार रहेको भन्दै उनको राजीनामाको मागसहित एक थरी प्रदर्शनकारीहरु सडकमा नै छन् ।
पछिल्लो समय श्रीलंका सन् १९४७ मा स्वतन्त्र भएयताकै गम्भीर आर्थिक संकटबाट जुधिरहेको छ । विदेशी मुद्रा अभावका कारण बजारमा इन्धन, औषधि तथा खाद्यान्नको चरम अभाव छ । मूल्यवृद्धि अकाशीएपछि सर्वसाधारणको दैनिकी निकै कष्टकर बनिरहेको छ । विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयले सेवा प्रवाह गर्न असफल भएको छ ।राष्ट्रपति भएका विक्रमासिंघेका अगाडी यस्ता समस्याको पहाड नै छ ।
नीतिगत रुपमा तङ्ग्रिदै गरेको नयाँ नेतृत्वलाई अब यी समस्यासँगै आर्थिक संकटबाट पनि माथि उकास्नु पर्ने मुख्य चुनौती छ । जसका लागि विक्रमासिंघेले अन्तर्राष्ट्रिय मुद्रा कोष तथा अन्य देशसँग सहयोगको प्रयास थाल्ने जनाइसकेका छन् । श्रीलंकाली नागरिक आर्थिक मन्दीका कारण त्रसित छन् । मुद्रास्फीति यति बढेको छ कि, खाद्यान्न विपत बनेको छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले देशका ६० लाखभन्दा बढी मानिस खाद्य संकटको सामना गरिरहेको र हाल ३० लाख जनताको भोक मेटाउन ८०० करोड नेपाली रुपैयाँ आवश्यक पर्ने बताएको छ ।
विश्व खाद्य कार्यक्रमका राष्ट्रिय प्रमुख अब्दुर रहिम सिद्दिकीले देशको अर्थतन्त्र अहिले स्वतन्त्रता यताकै सबैभन्दा खराब खाद्य संकटको सामना गरिरहेको र आगामी केही महिनामा मुद्रास्फीति बढ्ने अनुमान गरिएको बताए। सिद्दिकीका अनुसार श्रीलंकाले आफ्नो स्वतन्त्रतादेखि नै गम्भीर खाद्य संकटको सामना गरिरहेको छ। अहिले जुलाईसम्म मात्रै खाद्य मुद्रास्फीति दर ८० प्रतिशतभन्दा माथि रहेको र आगामी महिनाहरूमा यो दर बढ्ने सम्भावना रहेको उनले बताएका छन् ।
यस्तो स्थितिमा अहिलेका नयाँ नेतृत्व चुनौती नै चुनौतीको कुर्सीमाथि बसिरहेको छ । यदि यी चुनौतीलाई अवसर बदल्न सके श्रीलंकाको इतिहासमा यो नेतृत्वको नाम स्वर्ण अक्षरमा लेखिने छ र त्यहाँका जनताले उनलाई हृदयमा सजाउनेछन् ।त्यसो हुन नसके विक्रमासिंघेको विरोधमा फाटफुट्ट सडकमा देखिएको विरोधको शक्ति अनियन्त्रित नबन्ला भन्न सकिन्न ।


प्रतिक्रिया