विदेश

आन्दोलनको तयारीमा इमरान खान


काठमाडौँ — पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआई)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले पञ्जाबमा मुख्यमन्त्रीमा हम्जा शाहबाजको ‘आश्चर्यजनक’ विजयपछि आज शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका छन् ।

पञ्जाब विधानसभाको चुनावपछि पाकिस्तान मुस्लिम लिग – नवाज (पीएमएल–एन)का उम्मेदवार हम्जा शाहबाज पुन पञ्जाबको मुख्यमन्त्रीको पदमा निर्वाचित भएपछि पीटीआई अध्यक्ष खानले जनतालाई सम्बोधन गर्न लागेका हुन् । उपसभामुखले पाकिस्तान मुस्लिम लिग–कायद (पीएमएल–क्यु)को १० मत खारेज गरेपछि हम्जाको जित सुनिश्चित भएको थियो ।

खानले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का नेता आसिफ जर्दारीलाई पन्जाबको मुख्यमन्त्री चुनावअघि हर्स ट्रेडुको आरोप लगाएका छन् । यसैबीच, पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पीटीआईका उपाध्यक्ष शाह महमुद कुरेसीले पनि उपसभामुखको निर्णयको आलोचना गरेका छन् । हालै भएको पन्जाब विधान सभा निर्वाचनमा खानको पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआइ) विजयी भएको थियो । एजेन्सी