Breaking

हेलिकप्टर कुर्दाकुर्दै बिरामीको मृत्यु


काठमाडौँ — गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ की २१ वर्षीया मिङ्मा छेन्जोम लामाको मृत्यु भएको छ । उपचारका लागि हेलिकप्टर कुर्दाकुर्दै उनको शुक्रबार दिउँसो करिब साढे १ बजे मृत्यु भएको वडाध्यक्ष सरोज लामाले सेतोपाटीलाई बताए । यो क्षेत्र मनास्लु संरक्षित क्षेत्रअन्तर्गत पर्छ । बिरामी उद्धार गर्न पनि जिल्ला प्रशासन कार्यालय गोरखासहित गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिनुपर्ने झन्झट रहेको वडाध्यक्ष लामा बताउँछन् ।

‘हिजो बेलुकीदेखि मुटु दुख्यो भनेर उनी छटपटाइरहेकी थिइन् लामाले भने, ‘उपचारका लागि उनलाई हेलिकप्टरबाट उद्धार गर्न बिहानदेखि लाग्यौं तर हेलिकप्टर नउड्दै उनको मृत्यु भयो । जिल्ला प्रशासन कार्यालय गोरखाले बिहान ८ बजेतिरै हेलिकप्टर उडान अनुमति दिए पनि मन्त्रालयहरूबाट अनुमति पाउन ढिलाइ भएको उनी बताउँछन् ।

‘यो दुर्गम ठाउँ हो, स्वास्थ्य संस्थामा प्राथमिक उपचारबाहेक अरू सम्भव छैन उनले भने मुटु दुखेको हुनाले उनलाई काठमाडौं नै लैजानुपर्ने थियो। तर हेलिकप्टर उडाउने प्रक्रिया मिलाउँदा मिलाउँदै उनको मृत्यु भयो । उनलाई हेलिकप्टरबाट उद्धार गर्न परिवारका सदस्यले ऋणसमेत खोजिसकेका थिए । हेलिकप्टर कुर्दाकुर्दै उनको मृत्यु भयो,’ उनले भने, ‘दुर्गमका जनताले उपचार सेवा पनि नपाउने स्थिति छ ।