Breaking

प्रधानमन्त्री देउवा भदौमा अमेरिका भ्रमण जाने


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा आगामी भदौमा अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले उच्च नेतृत्वले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रसङ्घको महासभा आगामी भदौ २८ (१३ सेप्टेम्बर) देखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदै छ । त्यसमा नेपाल सरकारको उच्च नेतृत्वसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाउने गरी तयारी सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व अपेक्षित रहेको बताइन् । तथापि प्रधानमन्त्री नै जाने वा अरू कोही जाने भन्ने विषयमा मन्त्रिपरिषद्ले गर्ने औपचारिक निर्णय नै आधिकारिक हुने उनको भनाइ छ । विगतमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण हुने भनेर गृहकार्य भए पनि भ्रमण हुन सकेको थिएन ।