Breaking

साउने सोमबार, शिवलाई खुसी पार्ने अपूर्व अवसर,यस्तो छ उपवासको महत्व


काठमाडौँ — आज साउनको पहिलो सोमवार,मुलुकभरका शिवालयहरुमा भगवान शिवको विशेष पूजा आराधनाभएको छ । हिन्दुधर्मवलम्विहरुले साउने सोमवारलाई विशेष धार्मिक महत्वका रुपमा लिने गर्दछन् । साउनको सोमबार आफू र परिवारको सुस्वास्थ्य र दीर्घायु कामना गर्दै व्रत बस्ने परम्परा रहिआएको छ ।


सम्पुर्ण हिन्दुधर्मवलम्विहरुले साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले विशेष महिनाको रुपमा लिने गर्दछन् । त्यसमा पनि साउने सोमबारको आफ्नै महत्व रहिआएको छ ।सोमबारका दिन पूजा आराधना गर्नाले मनो कामना सिद्ध हुने जनविश्वास रहिआएको छ । सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमवार आजबाट शुरु भएको हो।

यस अवसरमा काठमाडौंको पशुपतिनाथ लगायत देशैभरको शिव मन्दिरहरुमा श्रदालु भतmजनहरुको घुइँचो लागेको थियो । साउने सोमवारमा विशेषगरी हिन्दु महिलाहरुले भगवान शिवको उपासना गर्दै निराहार व्रत वस्ने गर्दछन । यो दिन निराहार व्रत वसी शिवजीको पुजाआरधना गर्दा आफ्नो मनोकांक्ष पुरा हुने तथा आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु प्रप्त हुने विश्वास भक्तजनको छ ।

ज्योतिषशास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिवलाई मानिन्छ । शिवको अर्थ कल्याण हो। विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने जनविश्वासका कारण शिवको उपासना गर्ने परम्परा वैदिक कालदेखि नै चलेको मानिन्छ ।

यो वर्ष साउनमा ५ वटा सोमबार परेका छन्। पहिलोपटक व्रत लिनेहरूले ५ वटा सोमबार परेको वर्षमा व्रत बस्नु विशेष मानिन्छ । शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्तीको आधारमा महिलाहरूले यसलाई बढी महत्व दिने गरेका छन् ।