देश

अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन गर्न विज्ञ समूह गठनको तयारी


काठमाडौं — सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन गर्न विज्ञ समूह गठनको तयारी गरेको छ । आइतबार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति बैठकले विज्ञ समूह गठन गर्ने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आयोजित छलफलमा उनले सर्वोच्च अदालतको आदेश अनुसार विज्ञ समूह गठनको तयारी भएको जानकारी दिए । निजगढ विमानस्थलसम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतले सबैजसो क्षेत्रको विज्ञ समूह गठन गरी उक्त समूहको सुझाव अनुसार वातावरणको कम भन्दा कम क्षति हुने गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आदेश दिएको थियो । महानिर्देशक अधिकारीले सरकारले विज्ञ समिति गठन गर्ने र सोही समितिको प्रतिवेदनको आधारमा अघि बढ्ने बताए ।