काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समिति बैठक पहिलो पटक बसेको हो । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने छ । त्यसपछि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने उनको भनाइ छ ।
उनले भने, ‘साथीहरुले स्थानीय तह निर्वाचनको अनुभवसहित रिपोर्टिङ गर्नुहुन्छ त्यसकै आधारमा भविष्यको बाटो पनि तय गर्छौं । आगामी निर्वाचनमा पनि सत्ता गठबन्धनलाई निरन्तरता दिने आम भावना रहेको बताउँदै महतले त्यसबारे पनि बैठकमा छलफल गर्ने बताए । कांग्रेस केन्द्रीय केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचनको समीक्षा बैठकको मुख्य एजेण्डा रहेको बताए । बैठकमा डा. शेखर कोइराला पक्षले भने सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको कामकारबाहीको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।


प्रतिक्रिया