काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुदृढ नभएकाले नेपालले चीनबाट ऋण नभई अनुदान मात्र स्वीकार गर्न चाहेको बताएका छन् । आइतबार बेलुका बालुवाटारमा चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओसँगको संवादका क्रममा प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् । नेपालको अर्थतन्त्र अहिले सुदृढ अवस्थामा छैन । अहिले ऋण दिने अवस्थामा हामी छैनौं । नेपाललाई अनुदान चाहिएको छ, उक्त संवादमा सहभागी कुटनीतिज्ञ दिनेश भट्टराईले प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै भने ।
प्रधानमन्त्री देउवाले चिनियाँ पक्षसँग यसअघि पनि नेपालले ऋणभन्दा पनि सहुलियत ऋण र अनुदानमात्र स्वीकार गर्न सक्ने बताएका थिए । चैतको दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा देउवाले चिनियाँ पक्षलाई उक्त सन्देश दिएका हुन् । दक्षिण एसियाको अर्को मुलुक श्रीलंका ऋणकै कारण आर्थिक संकटमा परेपछि नेपालमा पनि चर्को ब्याजदरमा ऋण लिन हुन्न भन्ने बहस सुरु भएको छ । चीनले श्रीलंकामा हम्बनटोटा बन्दरगाह निर्माणका लागि ऋण दिएको थियो । तर श्रीलंकाले चीनलाई ऋण तिर्न नसकेपछि उक्त बन्दरगाह ९९ वर्षका लागि आफ्नो अधीनमा लिइसकेको छ ।


प्रतिक्रिया