काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा आइतबार नयाँदिल्ली पुगेकी छन्। नेपाल एयरलाइन्सको विमानबाट नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजु आज आइतबार दिउँसो भारत गएकी हुन्। स्वास्थ्य उपचारका लागि उनी त्यसतर्फ गएको बालुवाटार स्रोतले बताएको छ। आरजुको दिल्ली बसाइबारे दिल्लीस्थित नेपाली दूतावास जानकार रहे पनि उनका राजनीति भेटवार्ताबारे अनभिज्ञ छ।
चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडौँ आइपुगेकै दिन देउवा पत्नी आरजु राणा देउवा नयाँदिल्ली पुग्नु संयोग मात्रै होकी यसको कुनै खास कारण छ ? त्यसोत आरजु नियमित फलोअपका लागि आउनुभएको भन्ने सुनेका छौं। त्यसबाहेक उहाँका यहाँ अरु कार्यक्रम भए हामीलाई जानकारी छैन’ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले भने। आरजु पछिल्लो पटक गत जेठ २८ गते नयाँ दिल्ली पुगेकी थिइन्। नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उनले स्वास्थ्य उपचार गराएपछि त्यसबेला उनले केही भाजपा नेतासंग भेटेकी थिइन्।
आरजुले आफू निजी भ्रमणमा दिल्ली गएको बताए पनि नेपालमा कतिपयले उनको भ्रमणलाई प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे भारतसँग जोडेर हेरेका थिए। त्यसबेला संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिमा केही सांसदले आरजुको भारत भ्रमणबारे प्रश्न उठाएका थिए। एमाले सांसद भीम रावलले आरजुको अमेरिका भ्रमणका बखत हुने भनिएको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्बन्धी सैन्य सम्झौताबारे भारतीय संस्थापनसँग पूर्वसल्लाह लिन भारत गएको हुनसक्ने अनुमान गरेका थिए। यद्यपि आरजुको दिल्ली भ्रमण स्वास्थ्य उपचारबाहेक अन्य केही प्रयोजनले भएको थियो वा थिएन भन्नेबारे सरकारी अधिकारी, नेपाली दूतावास र नयाँ दिल्ली जानकार थिएनन्।
त्यसअघि गत पुसमा पनि उनी भारत भ्रमणमा गएकी थिइन्। भाइको उपचारका लागि दिल्ली गएको भनिए पनि उनले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटेकी थिइन्। प्रधानमन्त्री देउवाको पुस अन्तिम साताका लागि हुने भनिएको भारत भ्रमणअघि उनले भाजपा नेतासँग भेट्नुलाई भ्रमण तयारीकै पाटोका रुपमा लिइएको थियो। परराष्ट्र संयन्त्र वा नियमित कुटनीतिक च्यानलभन्दा प्रधानमन्त्री पत्नी भ्रमणमा सक्रिय देखिनुलाई धेरैले अस्वाभाविक मानेका थिए। यद्यपि देउवाको भ्रमण त्यसबेला हुन सकेन।
प्रधानमन्त्री देउवा गतवर्ष असारमा पुनः सत्तामा फर्केपछि आरजु भारतको सत्तारुढ भारतीय जनतापार्टीसँग थप नजिकिएकी थिइन्। उनले भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेलाई नेपाल बोलाएर रक्षाबन्धन बाँधेको प्रसंग निकै चर्चामा आएको थियो। प्रधानमन्त्री देउवाको गत अप्रिलमा भएको भारत भ्रमणमा देउवाले भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गर्नुमा आरजुका समेत चाहना रहेको बताइएको थियो। आरजुकै चाहना बुझेर भारतीय संस्थापनले देउवा दम्पतीलाई काशी बनारसको भ्रमणसमेत गराएको थियो।


प्रतिक्रिया