राजनीति

जसपा विवाद फुट नजिक


काठमाडौँ — सत्तारुढ जनता समाजवादी पार्टीको विवाद फुट नजिक पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद विभाजनको सम्मुख पुगेको हो । यादव र भट्टराईले छुट्टाछुट्टै केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । उपेन्द्र यादवले असार २९ र ३० गतेका लागि वीरगन्जमा केन्द्रीय समिति बैठक बोलाएका थिए । त्यसपछि संघीय परिषद् अध्यक्ष भट्टराई पक्षले भने काठमाडौंमा असार २८ र २९ मा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् ।

काठमाडौंमा बस्ने बैठकमा भट्टराईले समसायमिक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन पेस गर्ने उनी निकट नेता विश्वदीप पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार छलफल हुने विभिन्न एजेन्डाहरू तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद् सदस्यलाई पठाइएको छ ।

उनले भनेका छन्, जसपाको केन्द्रीय समितिको विस्तारित बैठकको एजेन्डाहरूमा पार्टीको आन्तरिक अवस्थाबारे छलफल, स्थानीय निर्वाचनको समीक्षाबारे छलफल, संगठनबारे छलफल, आगामी कार्ययोजनाबारे छलफल र विविध रहेका छन् । भट्टराई पक्षले बैठक बोलाउने तयारी गरेपछि यादव पक्षमा रहेका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले गैरजिम्मेवार व्यक्तिको विधान विपरीत निर्णय भनेर आपत्ति जनाएका थिए ।