काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज नेपाल आउँदै छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लिउ चारदिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुग्ने भएका हुन् । उनी विमानमार्फत आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।
आगामी बुधबारसम्म यहाँ रहँदा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन् । लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेट्ने कार्यक्रम छ ।
नेपालमा रहँदा चिनियाँ नेताले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने स्रोतले जानकारी दिएको छ।
एक महिनायता नेपालका प्रमुख दलसँग निरन्तर सम्पर्कमा रहेका चिनियाँ वरिष्ठ नेता लिउको भ्रमण तयारीका लागि परराष्ट्र र चिनियाँ दूतावासले समन्वय गरिरहेका छन्।
लिउले गत जुन अन्तिम साता माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग अलग अलग भिडिओ वार्ता गरेका थिए।
उनले परराष्ट्रमन्त्री तथा कांग्रेस नेता नारायण खड्कासँग गतसाता मात्रै भिडिओ कुराकानी गरेका थिए।
लिउ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हुन्। चीनमा उनको हैसियत मन्त्रीसरह हुन्छ । ५८ वर्षीय नेता लिउ चीनका पूर्व वरिष्ठ कुटनीतिज्ञ हुन् । गत जुन महिनामा उनी चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख नियुक्त भएका थिए ।


प्रतिक्रिया