Breaking

भाग्यले ठगिएका विक्रमासिंगे


काठमाडौँ — गत मेमा संकट गहिरिँदै जाँदा जब रनिल विक्रमासिंगे श्रीलंकाको प्रधानमन्त्री बन्ने घोषणा गरियो, तब धेरै श्रीलंकाली जनता छक्क परे । किनभने विक्रमासिंगे मुलुकको इतिहासमै सबैभन्दा बढी छैटौँ पटक प्रधानमन्त्री बन्दै थिए ।

विक्रमासिंगे राजापाक्षे परिवारको निकट मानिन्छन् । धेरैको विचारमा राजापाक्षेहरुको सुरक्षाको ग्यारेन्टी गर्नै विक्रमासिंगेलाई सो पदका लागि रोजिएको थियो ।

मानिसहरुको निराशाका बाबजुद उनी छैटौँ पटक प्रधानमन्त्री भइछाडे। तर, यस पटक पनि उनले आफ्नो कार्यकाल पुरा गर्न नपाउने भएका छन् ।

उसो त अहिलेसम्म उनले एउटा कार्यकाल पनि पुरा गर्न पाएका छैनन् । शनिबार प्रदर्शनकारीहरु उनको सरकारी निवासमा प्रवेश गरेलगत्तै विक्रमासिंगेले राजीनामा दिने घोषणा गरेका छन् ।

विक्रमासिंगे पहिलो पटक १९७७ मा सांसदमा चुनिएका थिए । १९८९ मा रनसिंगे प्रेमदासा राष्ट्रपति भएपछि उनी पार्टीमा छिटोछिटो बढुवा भए ।

पहिलो पटक १९९३ देखि १९९४ सम्म उनी प्रधानमन्त्री भए । त्यसबेला एप्पावाला सहरमा उनले सम्बोधन गरिरहेको भेलामा बम विस्फोट हुँदा उनी थोरैले बच्न सफल भएका थिए । सन् २००० छेका उनी राष्ट्रपतिका बलिया दाबेदार मानिन थालेका थिए । तर, त्यसपछि उनको भाग्यमा ग्रहण लाग्यो ।

त्यसपछि डिसेम्बर २००१, जनवरी २०१५, अगस्ट २०१५, डिसेम्बर २०१८ र मे २०२२ मा पनि उनले प्रधानमन्त्री पदको शपथ लिए ।

२५० जनाको ज्यान जानेगरी २०१९ मा भएको बम विस्फोटनका बेला उनी नै प्रधानमन्त्री थिए । अगाडि नै आक्रमणबारे गुप्तचर सूचना प्राप्त भए पनि आफूसम्म त्यो नआइपुगेको उनको भनाइ थियो ।

गत चुनावमा उनको कुनै बेलाको सत्तारुढ पार्टी यूएनपीले मात्र एक सांसद जित्यो। जसका कारण संसदमा दलका तर्फबाट उनी एक्लो प्रतिनिधि भए ।

दुई महिनाअघि उनी प्रधानमन्त्री हुँदा जनतामा चर्को आक्रोश देखिन्थ्यो। त्यसैले छैठौँ पटक पनि भाग्यले उनलाई ठग्यो । बीबीसी