Breaking

आबेको श्रद्धाञ्जली र्यालीमा देखियो मन रुवाउने दृश्य, विश्व नै स्तब्ध


काठमाडौँ — शुक्रबार बीच सडकमा नै गोली हानी हत्या गरिएको जापानका पूर्वप्रधानमन्त्रीको शव टोकियो लैजादैँ गर्दा कारुणिक दृश्य देखियो । देशले जनप्रिय नेतालाई गुमाउँदा हरेक जनताको आँखा रसायो । जापानी जनप्रिय नेता तथा पूर्वप्रधानमन्त्री शिन्जो आबेको मृत शरीरलाई शनिबार राजधानी शहर टोकियो लगिएको छ । आबेको पार्थिवलाई लिएर उनका पत्नी अकी आबे घटनास्थलदेखि नारादेखि टोकियो आएका हुन् । आबेलाई श्रद्धाञ्जली दिन देशका हरेक ठूला सहरमा हजारौं जनता आफ्ना प्रिय नेताको सम्झनामा सडकमा निस्किएका छन् । आबेको श्रद्धाञ्जली र्यालीमा हरेकको आँखा रसिलो देखिएको थियो ।

उनलाई गाली हानेको नारा शहरमा सबैभन्दा भावुक अवस्था देखियो । गहभरि आँसु, अँगालो र हात जोडेर आबेलाई श्रद्धाञ्जली अर्पण गरिरहेका मानिसहरूको दृश्य जापानका प्रत्येक शहरमा देखिन्थ्यो ।
पूर्वप्रधानमन्त्री आबेको हत्यापछि जापानमा मात्रै होइन विश्वभर शोकको माहोल बनेको छ । नेपाल लगायत धेरै देशमा शीर्ष नेता, जनताहरुले उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । क्यानडा, फ्रान्स, अस्ट्रेलिया, इटाली, भारत, ताइवान, पोल्यान्ड, फिलिपिन्स, इजरायल, दक्षिण कोरिया, जर्मनी, रोमानिया, टर्कीलगायत मुलुकका प्रमुखले विश्वले एक सच्चा राजनीतिज्ञ र नेता गुमाएको प्रतिक्रिया दिएको छ ।

नेपाल, भारत लगायतको देशले राष्ट्रिय शोक मनाउने निर्णय नै गरेको छ । पूर्वप्रधानमन्त्री आबेको जुन प्रकारले हत्या भयो, त्यसले जापान र विश्व नै अचम्मित भएको अवस्था छ । किनभने जापानमा अमेरिकामा जस्तो बन्दुक सस्कृती प्रचलनमा छैन । जापान एउटा यस्तो देश हो जहाँ अधिकांश मानिसले बन्दुक नदेखी आफ्नो पुरा जीवन बिताउँछन् । जापानको बन्दुकसम्बन्धी कानुन निकै कडा छ । यहाँ बन्दुकको लाइसेन्स लिनको लागि नागरिकले कडा प्रक्रियाबाट गुज्रनुपर्छ । शान्तिप्रिय देश भएकाले कम घटना भएकाले आत्मरक्षाका लागि थोरै मानिसले मात्र बन्दुकको लाइसेन्स लिन्छन् ।

यस्तो अवस्थामा दिन दाहाडै हजारौं मानिसको उपस्थितिमा प्रभावशाली व्यक्तिमाथि सार्वजनिक स्थलमा नै गोली प्रहार भएको घटनाले जापानसहित सारा विश्व स्तब्ध बनेको छ । जापानका विश्वविद्यालयहरूमा धेरै राइफलरी क्लबहरू छन् । यसका बाबजुद पनि मानिसहरू शान्तिपूर्ण जीवन बिताउनमा विश्वास गर्छन् । टोकियोको निहोन विश्वविद्यालयको कलेज अफ रिस्क म्यानेजमेन्टका प्राध्यापक शिरो कावामोतोले पूर्व प्रधानमन्त्री आबेको हत्याले कुशल नेता गुमाएका बताएका छन् ।

आबेको स्थानीय समय अनुसार शुक्रबार बिहान ११ः३० बजे नारा सहरमा चुनावी ¥यालीका क्रममा गोली हानी हत्या गरिएको थियो । उनलाई ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले तत्काल पक्राउ गरेर अनुशन्धान थालेको छ । आबेको अन्तिम संस्कार भने जुलाई १२ मा गरिदै छ ।
यसैबीच, आबेको हत्यालाई वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले लोकतन्त्रमाथिको प्रहार भएको बताइसकेको छन् ।

उनले आइतबार हुने जापानी संसदीय निर्वाचनको प्रचारप्रसारलाई निरन्तरता दिँदै क्याबिनेट मन्त्रीहरू र देशका अन्य राजनीतिज्ञहरूको सुरक्षा बढाउन पनि आदेश दिएका छन् । किशिदाले अधिकारीहरूलाई हिंसामा नआउनसमेत आग्रह गरेका छन् ।