काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।
बुधबार स्थगित भएको बैठक आज बिहान ११ बजेपछि प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो ।
आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना छ । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहले आजको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यहरुको नामावली प्रस्तुत गर्ने एक नेताले बताए ।
गत मंगलबारको पूर्वपदाधिकारीहरुको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको थियो । नामावली टुंगो लगाउन प्रचण्डले मंगलबार र बुधबार आन्तरिक छलफल गरेका थिए ।
पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य टुंगो लगाउने गृहकार्य गर्न भन्दै मंगलबार केन्द्रीय समितिको बैठक स्थगित गरिएको थियो । बुधबार पनि संसदमा सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको थियो । बुधबारको संसद बैठकमा महासचिव पदका आकांक्षी जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।


प्रतिक्रिया