Breaking

हाइड्रोजन, एमोनिया र युरियाबाट नेपालमा इन्धन उत्पादन हुने


काठमाडौँ — नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) सँग नेपाल विद्युत् प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो ।

आज मङ्गलवार सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक फ्रेङ्क रिजस्बेर्मन र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सम्झौतामा जीजीजीआईले इन्धन उत्पादनका लागि आवश्यक अध्ययन गरिदिने, त्यसको कार्यान्वयनका लागि नेपाल सरकारलाई सहजीकरण गरिदिने र त्यसका लागि आवश्यक सबै खालका प्राविधिक सहयोग गरिदिने भनिएको छ ।

कार्यक्रममा मन्त्री भुसालले यो परियोजनाले विश्वमै महँगो बन्दै गइरहेको पेट्रोलियम पदार्थलाई विस्थापित गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले यो परियोजनाले नेपालको ऊर्जा क्षेत्रको नयाँ ढोका खोलिदिएको पनि बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, ‘यो एमओयू महत्त्वपूर्ण छ । यसलाई समयमै कार्यान्वयन गर्दा नेपालको ऊर्जाको क्षेत्रमा नयाँ ढोका खोल्नेछ ।’