Breaking

विमानस्थलमा शंकास्पद वस्तु छ भन्दै फोन गर्नेलाई खोज्दै प्रहरी


काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ शंकास्पद वस्तु बम राखेको भन्दै अज्ञात व्यक्तिले पटकपटक फोन गरेपछि आज बिहान यात्रुहरूलाई समेत बाहिर निकालेर सर्चु गरियो । शंकास्पद वस्तु फेला नपरेपछि बिहान ११/१० बजेदेखि विमानस्थल सुचारू गरिएको थियो । विमानस्थलमा ९ देखि १० बजेको बीचमा दुई पटक फोन आएको थियो । फोनमा पुरूष व्यक्तिको आवाज सुनिएको थियो । छ सात वटा बम राखिएको र दुई घन्टामा पड्कने उसले बताएको थियो ।

त्यसलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले सबै यात्रुहरूलाई बाहिर लगेको थियो । सो फोन नेपालभित्रबाटै आएको हुन सक्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तम सुवेदीले जानकारी दिए । उनकाअनुसार यो फोन कुनै एपको प्रयोग गरी गरिएको अनुसन्धानबाट देखिएको छ ।

‘टोलीले अनुसन्धान गरिरहेको छ, यस्तोमा उनीहरूले एप्सको प्रयोग गरेर फोन गरेको हुन्छ । फोन गर्दा अन्तै देशको नम्बर देखाउने खालको प्रयोग गरिएको छ,’ उनले भने,‘त्यसको अनुसन्धान भइरहेको छ, हाम्रो अनुसन्धानमा नेपालबाटै फोन आएको भन्ने छ ।’ यस घटनाको अनुसन्धान गर्न रानीपोखरीले टोली परिचालन गरिसकेको छ । प्रहरीले फोन गर्ने व्यक्तिको खोजी गरिरहेको छ ।