विदेश

युक्रेनको दाबी : आफ्नो सेनाको असफलताले रुसी रक्षमन्त्रीलाई हृदयाघात भयो


काठमाडौँ — युक्रेनले रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई हृदयाघात भएको दाबी गरेको छ । युक्रेनको गृहमन्त्रीका सल्लाहकारले शुक्रबार यस्तो दाबी गरेका हुन् ।

शोइगु गत मार्च ११ यता सार्वजनिक रुपमा देखिएका छैनन् । यद्यपि मार्च २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सार्वजनिक गरेको भिडियोमा उनी पनि सँगै देखिएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा युक्रेनका गृहमन्त्रीका सल्लाहकारले लेखेका छन्, ‘युक्रेनमाथि रुसी आक्रमणको असफलताबारे पुटिनको आरोपपछि रुसी रक्षामन्त्रीलाई हृदयाघात भएको छ ।’

उनका अनुसार अहिले शुइगु अस्पतालमा उपचार गराइरहेका छन् । यद्यपि रुसले भने युक्रेनको दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन । यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रुसी रक्षामन्त्री हराएको उल्लेख गरेका थिए ।

जेलेन्स्कीले रुसी सेनामाथि युक्रेनी सेनाले बहादुरीपूर्वक प्रहार गरेको र यसले रुसी सेनालाई ठूलो नोक्सानी भएको उल्लेख गरेका छन् ।