काठमाडौँ — चीनका विदेशमन्त्री वाङ यी यतिवेला नेपाल भ्रमणमा छन् । चीनबाट भएको यो हाइप्रोफाइल भिजिटमा नेपालको मात्र नभएर विश्व समुदायको नजर परेको छ । स्टेट काउन्सीलर समेत रहेका विदेशमन्त्रीको १९ घण्टे नेपाल भ्रमणबाट के चाहन्छ त चीन ?चीनका विदेशमन्त्री वाङ यीको यो भ्रमण सिधै चीनबाट नेपाल भएको होइन, उनले दक्षिण एसियाली राष्ट्र अफ्गानस्तान हुँदै नेपालको यात्रा तय गरेका हुन् । उनको १९ घण्टे नेपाल बसाई कुटनैतिक सम्वन्धमा मात्रै सिमित हुने देखिन्न । किनकी अमेरिकी स्वार्थ लुकेको एमसीसी परियोजना नेपालमा लागु भएपछि चीन नेपालसँग रुष्ट छ ।
उसको चाहना एमसीसी नेपालमा कुनै पनि हालतमा लागु नहोस भन्ने थियो । दुई शक्ति राष्ट्र अमेरिका र चीनको टकराव यतिसम्म छचल्कीयो की एमसिसिका सवालमा यी दुई देशले नेपाललाई बीचमा राखेर वाक युद्ध नै गरे । २७ माघमा अमेरिकी सहायकमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर एमसीसी फिर्ता भए ‘चीनले हस्तक्षेप गरेर आफ्नो अनुदान सहयोग स्थगित गराएको भनेर बुझ्ने’ चेतावनी दिएका थिए ।
त्यस लगत्तै ६ फागुन २०७८ मा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वान वेनबिङले अमेरिकालाई प्रतिउत्तर दिए । त्यसबेला अमेरिकाले नेपालमा बलजफ्ती कूटनीति गरेको आरोप चीनले लगाएको थियो । त्यसपछि दुवै मुलुकले एमसीसी संसदबाट अनुमोदन हुनु र नहुनुलाई आ–आफ्नो प्रतिष्ठाको विषय बनाए । प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन नहोस् भन्ने चीनको ठूलो चाहना थियो, त्यसका लागि उसको कसरत पनि सानो थिएन । संभवतः पहिलोचोटि, चीनले विदेश मन्त्रालयका प्रवक्ताको तहबाट औपचारिक प्रतिक्रिया नै सार्वजनिक गर्यो ।
तर पनि प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन हुनुलाई चीनले एक हिसाबले आफ्नो ‘कूटनैतिक हार’ का रूपमा लिएको छ । आफ्नो सबैभन्दा नजिकको छिमेकी मुलुक नेपालमा अमेरिकी उपस्थिति बलियो हुँदै जानु चीनलाई पाच्य हुने कुरै भएन । यसभित्रको स्वार्थ चीनले राणनीतिक रुपमा नेपालमा देखाउन खोज्दैछ । सिधा अर्थमा एमसीसी अनुमोदन पछि नेपालमा के भइरहेको छ ? भन्ने जान्नका लागि चीनीया भिआइपी नेपाल अवतरण गरेका हुन् । तर मुलुकको शासन सत्ता सम्हालेकाहरुले कुनै देशको भिआइपी आए भन्दै लम्पसार परेर जो आज्ञा हजुर भन्ने भन्दा आफ्नो देशको स्वार्थलाई शिरोपर गरेर कुरा गर्ने आँट गर्नु पर्दछ ।
बर्षाैँदेखि अलपत्र परेको बिआर आई परियोजना किन अघि बढ्न सकेन ? नेपाल किन संधै आश्वासन र सपनाको भूमरीमा मात्रै धुमिल हुनु पर्याे ? यसको जवाफ खोज्न जरुरी छ । आन्तरिक राजनीति गिजोलिएर मुलुक निर्वाचनमा होमिदै गर्दा यी को भ्रमणमा फेरि कम्युनिष्टहरुको जोडघटाउ मिलाउने प्रयास नहोला भन्न सकिन्न । तर दुई शक्ति राष्ट्रबीचको स्वार्थका बीच नेपालले आफ्नो राष्ट्र हितलाई केन्द्रमा राखेर आफ्ना एजेण्डा प्रस्तुत गर्न सक्नुपर्छ ।


प्रतिक्रिया