काठमाडौँ — भ्रातृसंस्थाहरुको तदर्थ समिति गठनको विषयमा कांग्रेसमा असन्तुष्टि चुलिएको छ । नेविसंघ र तरुण दलमा सभापति शेरबहादुर देउवाले परामर्श नगरी तदर्थ समिति गठन गरेको विरोधमा नेता शेखर कोइराला पक्षले ‘तरुण–विद्यार्थी भेला’ बोलाएको छ । नेता कोइरालाले बिहीबार आफूनिकट तरुण र विद्यार्थी नेताहरूसँग छलफल गरेका थिए । शुक्रबार पुनः कोइराला समूहका तरुण विद्यार्थी नेताहरू बसेर चैत्र १४ गते काठमाडौंमा तरुण विद्यार्थीहरूको भेला गर्ने निर्णय गरेका हुन् । तरुण–विद्यार्थी नेताहरूको भेलाले चैत्र १४ गते सोमबार दिउँसो १ बजे काठमाडौंमा तरुण–विद्यार्थी राष्ट्रिय भेला बोलाउने निर्णय भएको नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले जानकारी दिए ।
सभापति देउवाले बुधबारमात्रै नेविसंघको अध्यक्ष दुजाङ शेर्पा र तरुण दलको अध्यक्ष विद्धान गुरुङलाई नियुक्त गरेका थिए । तर, देउवाले आफूहरूसँग परामर्श नगरी तदर्थ समिति गठन गरेको भन्दै कोइराला समूह असन्तुष्ट छ ।कोइराला समूहका नेताहरुले आवश्यक परे समानान्तर समिति गठन गर्नेसम्मको चेतावनी दिएका छन् । यसअघि भएको नेतृत्वले समयमा महाधिवेशन गर्न नसकेपछि फागुन ३ गते बसेको कार्यसम्पादन समितिको बैठकले नेविसंघ र तरुण दलसहित १० वटा भ्रातृ संस्थाको केन्द्रीय समिति विघटन गर्दै तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया