Breaking

नेपाल आउनुअघि भारतीय समकक्षीसँग चिनियाँ विदेशमन्त्रीको भेटवार्ता


काठमाडौँ — चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले भारतीय विदेशमन्त्रीसँग नयाँ दिल्लीमा भेटवार्ता गरेका छन् ।
नेपाल आउनु केही घण्टाअघि मात्रै भारतीय विदेशमन्त्रीसँग वाङको प्रतिनिधिमण्डलस्तरको भेटवार्ता भएको हो । भेटबारे भारतीय र चिनियाँ विदेश मन्त्रालयले जानकारी सार्वजनिक गरिसकेका छैनन् ।

सन् २०२० मे महिनामा चीन र भारतका सैनिकबीच सीमावर्ति लद्दाख क्षेत्रमा भिडन्त भएपछि सम्बन्धमा चिसोपना आएयता चीनका तर्फबाट भारतमा भएको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । उक्त भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने चीनतर्फ पनि चारजना सैनिकको मृत्यु भएको थियो ।

वाङले आजै बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित कुमार डोभलसँग साउथ ब्लकमा भेटेका थिए । भेटमा चीन र भारतबीचको सीमा तनावबारे छलफल गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ अफगानिस्तान भ्रमणपछि बिहीबार साँझ नयाँ दिल्ली पुगेका हुन् । काबुलअघि उनले पाकिस्तानको भ्रमण गरेका थिए । चिनियाँ विदेशमन्त्रीले पाकिस्तानमा रहंदा कश्मीरबारे दिएको अभिव्यक्तिप्रति भारतले चर्को असन्तुष्टि जनाएको थियो । उक्त अभिव्यक्तिका कारण वाङको भारत भ्रमण रोकिन सक्ने आशंका थियो । तर, वाङ बिहीबार साँझ नयाँ दिल्ली उत्रिए । वाङ शुक्रबार अपरान्ह नेपाल आउँदै छन् ।