देश

सलमानभन्दा अगाडि नै भाई सोहेल खान नेपाल आउने


काठमाडौँ — बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल आउने भएका हुन् । १४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिलै नेपाल आउन लागेका हुन् । उनले नेपाल आएर सलमानको सम्पूर्ण कार्यक्रम तय गर्नेछन् । सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ । ‘सोहेलजी इभेन्टसँग जोडिनु भएकाले उहाँले आएर तयारी बुझ्नु हुनेछ ।

हामी उहाँ आएपछि १४ अप्रिलमा पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिनेछौँ,’ ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानसँग भएको भर्चुअल संवादपछि सोहेल खान आउने बताइएको थियो । १४ जेठमा दशरथ रंगशालामा हुने सलमानको ‘दबङ रिलोडेड टुर’ र ‘पर्यटन प्रवद्र्धन’ बारे भर्चुअल संवाद भएको हो । सलमानले आफू नेपाल आउन उत्साहित रहेको बताएका थिए । मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका थिए ।