काठमाडौँ — संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेले भारतीय कलाकार सलमान खानको स्वागत गर्न र उनको कार्यक्रम हेर्न नेपालीहरु आतुर रहेको बताएका छन् । बुधबार काठमाडौको सोल्ठी होटलमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले बढी भन्दा बढी पर्यटक भित्र्याउने र राज्यलाई लाभ हुने काम आफ्नो समेत भएकाले नेपालमा हुने सलमान खानको कार्यक्रमले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । हिन्दीमा बोल्दै मन्त्री आलेले भने, ‘सलमानजी आप से मिलके हम बहुत खुस हुआ । हम आपको स्वागत करनेके लिए आतुरहे ।’ सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुसी लागेको बताए । आफूलाई नेपाल निकै मन पर्ने भन्दै उनले चाँडै नेपाल आउन लागेको बताए ।
मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तासमेत दिएका छन् । जवाफमा सलमानले समय मिलाएर आफू सगरमाथा चढ्ने बताए । ‘तपाईलाई म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउनु आग्रह गर्दछु । यदि तपाईको समय मिल्यो भने म तपाईलाई हेलिकप्टरमार्फत सगरमाथाको आरोहण गराउन चाहन्छु । त्यसमा तपाईले सहयोग गर्नुपर्यो,’ मन्त्री आलेले भने । आलेले आफूले थुप्रै फिल्म हेरेको स्मरण गराए । नेपालमा स्वागत गर्न नेपाली जनता र सरकार तयार रहेको उनको भनाइ थियो । आफ्नो चलचित्रको प्रमोसनका लागि सलमान खान आगामी १४ जेठमा नेपाल भ्रमणमा आउँदैछन् । त्यसअघि नै मन्त्री आलेले सलमानसँग भर्चुअल कुराकानी गरेका हुन् ।
‘हामी आतुर भएका छौ सलमान खानलाई स्वागत गर्न र कार्यक्रम हेर्न’, मन्त्री आलेको भनाइ छ । उनले आयोजक ओडीसीएनलाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै उक्त कार्यक्रम आयोजकको मात्रै नभएर हामी सवैको कार्यक्रम भएको बताए । ‘यसलाई सफल पार्न हामी सवैले साथ दिनुपर्छ, मेरो मन्त्रालयबाट गर्नसक्ने सहयोग गर्ने विश्वास दिलाउँछु । नेपाल सरकार पनि प्रतिवद्ध छ’, आलेले कार्यक्रमबारे आफुले प्रधानमन्त्रीलाई समेत जानकारी गराएको र उहाँ सहभागी हुन इच्छुक रहेको जानकारी दिए ।


प्रतिक्रिया