देश

प्रेसरकुकर ‘बम भित्र चार तोला सुन


काठमाडौँ — कैलाली प्रहरीमा मंगलबार बिहान खबर आयो, गोदावरी नगरपालिका–१, बनखेतस्थित नवीन साहुको घरअगाडि खतरा लेखेको प्रेसरकुकर छ । प्रहरी टोलीले बम हुन सक्ने आशंकामा सेनालाई खबर गर्‍यो । केही समयपछि सेनाको टोली घटनास्थलमा पुग्यो । सेनाले डिस्पोज गर्दा प्रेसरकुकरभित्र विस्फोटक पदार्थ नभई सुनका गहना भेटियो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी नवराज पोखरेलले भने, “बम सोचेको त चार तोला बराबरको सुनका गहना भेटियो । हामी पनि अचम्ममा पर्‍यौँ । घटनाबारे थप अनुसन्धान जारी छ ।” सुनसँगै कुकरमा एक नोट पनि थियो । जहाँ लेखिएको थियो, “आफूलाई ठूलो नसम्झिनू । घमण्ड नगर्नू । सबैसँग मिलेर बस्नू ।”

प्रहरीका अनुसार प्रेसरकुकरभित्र भेटिएका सुनका गहना नवीन साहकै परिवारको रहेको खुलेको छ । गएको मंसिर १४ गते साहको घरबाट १० तोला सुनका गहना चोरी भएको थियो । त्यसबारे प्रहरीमा उजुरी पनि दिइएको थियो । डीएसपी पोखरेलका अनुसार सुन चोरी प्रकरणमा प्रहरीले केही व्यक्तिलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो ।

चोरले आफ्नो पोल खुल्ने डरले गहना फिर्ता गर्न प्रेसरकुकर बमको बहाना बनाएको हुन सक्ने प्रहरी आशंका छ । साहु परिवारले सुन आफ्नो भएको सनाखत गरेको छ । अझै केही सुन हराइरहेको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पोखरेलले बताए । प्रहरीका अनुसार साहु दम्पती काठमाडौं आएको बेला ताल्चा, ढोका र दराज तोडेर गहना चोरिएको थियो ।