देश

वर्षौंदेखि खोलाको पानी खान बाध्य


काठमाडौँ — सल्यानको कालिमाटी गाउँपालिका–७ र्‍याङका स्थानीय वर्षौंदेखि खोलाको पानी खाँदै आएका छन् । खानेपानीको अन्य स्रोत नभएपछि र्‍याङका ७५ घरधुरी वर्षौंदेखि खोलाको पानी खान बाध्य भएका हुन् । गाउँपालिकादेखि टाढा रहेको बस्तीमा हालसम्म शुद्ध पानीको व्यवस्था नहुँदा खोलाको पानी उपभोग गर्न बाध्य भएका हुन् । लामो समयसम्म पनि खानेपानीको अभाव हुँदा स्थानीय तथा केन्द्र सरकार बेखबर रहेको स्थानीयको गुनासो छ । स्थानीय तथा केन्द्र सरकारले अहिलेसम्म पनि खानेपानीको समस्या समाधानमा चासो नदिँदा आफूहरू मारमा परेको स्थानीय तिली पुनले बताइन् ।

वर्षामा धमिलो पानी खाने गरेको र आजभोलि खोलाको पानी पनि सुक्दै गएकाले थप समस्या भएको उनको भनाइ छ । शुद्ध खानेपानीको अभाव हुँदा अहिले खोलाको पानी खाँदा बिरामी पर्न थालेको उनले बताए । खाना बनाउने, खाने तथा सरसफाइ गर्ने र पशु चौपायालाई पनि त्यही पानी खुवाउने गरेको स्थानीय पवित्रा पुनले बताइन् । खोलाको फोहोर पानी खाँदै आएका कारण धेरैलाई स्वास्थ्यमा समस्या आउने गरेको उनले बताइन् । उनले भनिन्, ‘आजभोलि त खोलामा सफा पानी आउँछ तर वर्षामा धमिलो पानी पनि खान बाध्य हुन्छौँ, हामी बिरामी हुन्छौँ । गर्मीयाम लागेसँगै खोलाको पानी पनि सुक्दै गएकाले अब यही खोलाको पानी पनि नपुग्ने समस्या भएको उनले बताइन् ।

सो क्षेत्रमा खानेपानीको अभाव रहेको जानकारी भएको र त्यसको व्यवस्थापनमा निरन्तर लागि परेको कालिमाटी गाउँपालिका– ७ का वडाध्यक्ष नैनसिंह रानाले बताए । वडामा थोरै बजेट आउने भएकाले सानो बजेटबाट काम गर्न नसकेको बताए । खानेपानीका लागि पूर्वाधार विकास कार्यालय र विभिन्न संघ संस्थासँग अनुरोध गरिएको रानाले बताए । जिल्लामा ६० प्रतिशत उपभोक्ताले खानेपानी पाएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानको तथ्यांक छ । बाँकी ४० प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर रहेको कार्यालयले जनाएको छ ।