काठमाडौँ — अब केही दिनमा स्थानीय निर्वाचनका लागि पार्टीका घोषणापत्रहरु बाहिरिदैछन् । कम्युनिष्टहरु कम्युनिष्ट विरुद्ध नै चुनावी मैदानमा जाँदैछन् । काँग्रेस कम्युनिष्टलाई भिडाएरै आफु सुरक्षित हुने तयारीमा छ । जसले गठबन्धनमै चुनावी तालमेल विवादित बनेको छ । बिहिबार विहानै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच निकै रोचक सवाल जवाफ भयो । प्रधानमन्त्री शेरबहादुर देउवाको बोलावटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगे ।
मुलतः स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने÷नहुने भ्रम पालिरहेका प्रचण्ड–माधव निर्वाचनकै विषयमा छलफल गर्न बालुवाटार छिरेका हुन् । बालुवाटार पुग्ने वित्तिकै प्रचण्डले प्रधानमन्त्री देउवासँग आफ्नो आशंकाले भरिएको सवाल खडा गरे । प्रधानमन्त्री ज्यू, चुनाव हुँदैन भन्ने चर्चा छ । हुँदैन क्या हो ? देउवाले जवाफ फर्काए– चर्चा त चुनाव हुने दिनसम्मै चल्छ । प्रधानमन्त्री देउवा र प्रचण्डबीचको यो सवाल जवाफपछि उनीहरु समयमै निर्वाचन हुनेमा लगभग ढुक्क बनेका छन् । तर गठबन्धनमा चुनावी तालमेलको विषयलाई लिएर दलहरु अझै ढुक्क बनेका छन् ।
स्थानीय तहको निर्वाचनमा एक्लै गए आफुमात्रै जित्नसक्ने अहंकार पालेको काँग्रेस झनै ढुक्क छ । सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा ढुक्क भएर अभिव्यक्ति दिइरहेका छन् । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अझै निर्धक्क हुन सकिरहेका छैन । हुनत् प्रधानमन्त्री देउवाले गठबन्धनबीच नै तालमेल हुने दाबी गरिरहेका छन् । तर उनकै पार्टीका उपसभापति, महामन्त्री र देउवा निकटकै धेरै नेताहरुले निर्वाचनमा गठबन्धनको आवश्यकता रहेपनि तालमेल गरेरै जानुपर्छ भन्ने विषय अनिवार्य नभएको बताइरहेका छन् । उनीहरुको मुल कुरा भनेको स्थानीय तहको निर्वाचनमा स्थानीय तहलाई नै तालमेलको अधिकार दिने भन्नेमा केन्द्रीत छ ।
तर काँग्रेसले यसबारे संस्थागत निर्णय गर्न सकिरहेको छैन । जसले गर्दा माओवादी र समाजवादीसमेत उल्झनमा अल्झिएका छन् । पछिल्लो समय गठबन्धनमा देखिएको मतभेद् र नेपाली काँग्रेसका नेताहरुबाट पटकपटक आइरहेका गठबन्धनविरोधी अभिव्यक्तिले प्रचण्ड–माधव चिड्ढीएका छन् । जस्तो कि, काँग्रेस उपसभापति धनराज गुरुङले प्रचण्ड–माधवको मुटु हल्लिने गरी ‘हात्तीका कानमा चमेराको ओत’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यस्तै, महामन्त्री गगन थापाले ‘माले–मसाले–मण्डले एकै हुन भन्दै प्रचण्ड–माधवको आचरणमाथि कटाक्ष गरेका थिए । फलतः काँग्रेसले आफुलाई लखेट्न खोजे एमालेसँग तालमेल गर्दै देउवालाई हराउनेसम्मको तयारी प्रचण्डले गरेका छन् ।
बिहिबारमात्रै प्रचण्डले एमालेसँग तालमेलको कुरा उठाए । त्योभन्दा अघि नै नेता बर्षमान पुनले एमालेसँग एकताको ढोका बन्द नभएको बताएका थिए । शुक्रबारमात्रै पुनः काँग्रेसलाई सत्ताबाट सडकमा पु¥याउन सक्ने चेतावनी दिएका छन् । यसले एमाले र माओवादी तालमेलको विषयमाथि पुनः अड्काबाजी सुरु भएको छ । ठिक यसैबेला नेपालमा चीनबाट उच्चस्तरिय भ्रमण हुँदैछ । जसले उनीहरुको एकतामा बल पुग्ने विश्लेषण गरिरहेको छ । एमालेसँग तालमेल गर्ने विषय काँग्रेसलाई दबाबमा पार्ने गरि आएको हो वा साँच्चिकै एमालेसँग मिल्नकै लागि हो । तर ओली यतिबेलै प्रचण्ड–माधवका कमजोरीको भण्डाफोर गर्दै चुनावमा होमिएका छन् भने प्रचण्ड–माधवसमेत ओलीका कमजोरीको भण्डाफोर गर्दै चुनावी मैदानमा छन् । यी दुबैलाई भिडाएर काँग्रेस आफुलाई सुरक्षित गर्न चुनावी मैदानमा दौडिएको छ ।


प्रतिक्रिया