काठमाडौँ — राप्रपा नेपालले आफ्नो चुनाव चिन्ह तीर प्रस्ताव गरेको छ। उसले उक्त चिन्ह स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको छ । तीर चुनाव चिन्हबारे निर्वाचन आयोगमा छलफल चलिरहेको राप्रपा नेपालका प्रवक्ता राजाराम बर्तौलाले बताए । तीन दिनअघि हामीले चुनाव चिन्ह माग्दै निर्वाचन आयोगमा निवेदन दिएका छौं,’ बर्तौलाले भने, ‘चुनाव चिन्हबारे छलफल भइरहेको छ ।’ राप्रपा नेपाल स्थानीय निकायको चुनावको तयारीमा छ। राप्रपा नेपाल आयोगले अद्यावधिक गरेको दल दर्तामा १७ नम्बरमा छ।
राप्रपा त्याग्दै थापाले फागुन ७ गते राप्रपा नेपाल दलको घोषणा गरेका थिए। थापा पहिले पनि राप्रपा नेपालको अध्यक्ष थिए।थापा नेतृत्वको राप्रपा नेपालले पहिले चुनाव चिन्ह गाई राखेको थियो । तर, २०७४ सालमा राप्रपा नेपालसहितका दल एक भएपछि पञ्चहरूको पार्टी राप्रपा बन्दा चुनाव चिन्ह हलो राखिएको थियो । निर्वाचन आयोगले दलहरूलाई चुनाव चिन्ह राष्ट्रिय जनावर, राष्ट्रिय रंग, राष्ट्रिय फूल राख्न दिएको छैन । राप्रपालाई आफ्नो झन्डाबाट समेत गाई हटाउन आयोगले पत्राचार गरेको छ ।


प्रतिक्रिया