देश

कुलोको समिति बनाउने भनेर झुक्याउँदै माओवादीका कार्यकर्तालाई एमाले प्रवेश गराइयो


काठमाडौँ — स्थानीय तह निर्वाचन नजिकिएसँगै देशमा राजनीतिक माहोल तातेको छ । यस्तोमा केन्द्रदेखि पालिकासम्म दल फेर्ने नेता कार्यकर्ता पनि बढेका छन् । धेरै स्थानबाट दल बदल्ने क्रममा अनौठा घटना आइरहेका छन् । केहीअघि मदिरा पिलाएर पार्टी प्रवेश गर्न बाध्य पारेको समाचार आएका थिए । तर पछिल्लो पटक दाङबाट यस्तै अनौठो अर्को खबर आएको छ । माओवादी केन्द्रका चारजना स्थानीय कार्यकर्ताले कुलोको समिति बनाउने भनेर झुक्याउँदै आफूहरुलाई एमालेमा प्रवेश गराएको दाबी गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति बनाउने भनेर हस्ताक्षर गराएको कागजबाट एमाले प्रवेश गराएको भन्दै माओवादी कार्यकर्ताले आपत्ति जनाएका छन् ।

उनीहरुले आफूहरु अहिले पनि माओवादीमै रहेको बताएका छन् । माओवादी कार्यकर्ताहरु सीताराम चौधरी, दशिराम चौधरी, निमबहादुर चौधरी र जीतराम चौधरीले विज्ञप्ति नै निकालेर आफूहरू एमालेमा नगएको बताएका छन् । २६ फागुनमा तुलसीपुर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति गठन गर्ने भनि हामीलाई बोलाइयो । त्यहाँ कुलोको समिति भनि सीताराम चौधरीको नेतृत्वमा एउटा समिति बनाइयो। तर, पछि एमालेको तुलसीबन्धना टोल कमिटी गठन गरिएको भनि प्रचार गरियो,’ उनीहरुले भनेका छन्, ‘विगतदेखि नै माओवादी केन्द्रमा सक्रिय भएर काम गरेका छौँ। अहिले पनि माओवादीमै रहेको कुरा जानकारी गराउँछौँ । एमालेले गरेको यस्तो भ्रमित कार्यको कसैले विश्वास नगर्न हुन अनुरोध गर्दछौँ ।’