Breaking

सर्भरमा समस्या हुँदा ई–पासपोर्ट लिन सास्ती


काठमाडौँ — सर्भरमा बारम्बार समस्या देखिँदा विद्युतीय राहदानी (ई–पासपोर्ट) लिनका लागि सेवाग्राहीले सास्ती खेप्नु परेको छ । राहदानी विभागको (ई–पासपोर्ट) प्रणालीको सर्भरमा पटक पटक समस्या देखिँदा सेवाग्राहीले सास्ती भोग्न बाध्य भएका हुन् । यस्तै समस्या सिन्धुपाल्चोक, काभ्रे, भक्तपुरलगायतका जिल्ला प्रशासनमा पनि देखिने गरेको छ ।सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले ई–पासपोर्टसमबन्धी सर्भरमा समस्या देखिने गरेको बताए । उनले भने, ‘राहदानी विभागको प्रणाली चले नचलेको अफिस आएर खोलेपछि थाहा हुन्छ, नचलेपछि सेवाग्राहीलाई मर्का पर्छ ।’ विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउन व्यक्तिको विभिन्न रेकर्ड आवश्यक हुन्छ ।

कार्यालयले सहज रुपमा प्रणाली चलेको अवस्थामा ७० जनासम्मको औठा छाप, आँखाको नानीको रेकर्ड (बायोमेट्रिक) गर्ने गरेको प्रमुख जिल्ला अधिकारी खनालले बताए । सामान्य रुपमा हामीले ४० जनासम्मको काम गर्दै आएका थियौं तर, प्रणालीमा समस्या आउँदा ५ जनाको पनि काम हुँदैन’ उनले भने । नयाँ सिस्टम भएकाले दक्ष कर्मचारीको खाँचो रहेको पनि उनले बताए । काभ्रेपलाञ्चोक जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि यो राहदानी बनाउने प्रणालीमा बेला–बेलामा समस्या हुने गरेको बताइन् । (ई–पासपोर्ट ) बनाउनेको संख्या अत्यधिक भएकाले कार्यालयमा धेरै भिड पनि हुने गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले दैनिक ५० जना सेवाग्राहीको बायोमेट्रिक गर्दै आइरहेको छ ।