काठमाडौँ — भारतको पञ्जाबमा आम आदमी पार्टीका नेता भगवन्त मानले बुधबार मुख्यमन्त्रीको शपथ लिँदै छन् । उनको शपथ ग्रहण समारोह पञ्जाबको नवांशहरमा भगत सिंहको पैतृक गाउँ खटकर कलामा हुनेछ ।
उनको शपथ ग्रहण समारोहमा कुनै पनि भिआईपी मानिसलाई निम्तो दिइएको छैन । आम नागरिकलाई यो समारोहमा सामेल हुन आग्रह गरिएको छ । यद्यपि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भने यो समारोहमा सामेल हुनेछन् ।
पञ्जाबका राज्यपाल बनवारीलाल पुरोहित पनि शपथ दिलाउन खटकर कला पुगेका छन् । भगवन्त मानले आफ्नो शपथ ग्रहणमा पुरुषलाई पहेँलो पगरी र महिलालाई पहेँलो सल लगाएर आउन आग्रह गरेका छन् ।
पञ्जाबको विधानसभा निर्वाचनमा आम आदमी पार्टीले पूर्ण बहुमतसहितको जित हात पारेको हो । पञ्जाबको ११७ सिटमध्ये ९२ सिटमा आम आदमी पार्टीले जित हात पारेको थियो ।


प्रतिक्रिया