काठमाण्डौँ — दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वरेण्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन क्वरेण्टिनमा बस्नुपर्ने व्यवस्था थियो । यो व्यवस्था आएसँगै वर्षौंदेखि कोरिया प्रवेशको पर्खाइमा रहेका विदेशी श्रमिकलाई आकर्षक रोजगारीको गन्तव्य भनिएको देश दक्षिण कोरिया जानलाई थप सहज हुने भएको छ । दक्षिण कोरियाले नेपाललगायत पाकिस्तान, थाइल्याण्ड, भियतनाम, बङ्गलादेश, श्रीलङ्गा, म्यानमारलगायत १६ देशबाट रोजगार अनुमति प्रणाली ईपीएस मार्फत श्रमिक लैजाने गरेको छ ।
क्वरेण्टिनका लागि बस्ने ठाउँकै अभावका कारण लामो समयदेखि नेपाललगायत अन्य देशबाट विदेशी नागरिक सहजरुपमा कोरिया उड्न पाइरहेका थिएनन् । यसका साथै कोरिया छिरे पनि क्वरेण्टिनको शुल्क महँगो हुने कारणलेसमेत थप समस्यामा परेको गुनासो पनि उत्तिकै आइरहेको थियो । यो व्यवस्थाले सबै समस्या हल हुने अनुमान गरिएको छ । कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएकाले मात्रै यो सुविधा पाउने जनाइएको छ । दक्षिण कोरियाको यो निर्णयले अब कोरिया बिस्तारै विदेशी आगमनलाई खुकुलो पार्दै जाने सोचमा रहेको बुझ्न सकिन्छ ।


प्रतिक्रिया