देश

प्रधानमन्त्री देउवा र प्रचण्ड दुवैले तत्काल अर्थमन्त्रीलाई नहटाउने सहमति


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई फेर्न लागेको भन्ने हल्ला चलिरहेको बेला प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै नेताले शर्मालाई निरन्तरता दिन सहमत भएका छन् । पछिल्लो समय अर्थमन्त्री शर्माको कार्यशैलीप्रति प्रधानमन्त्री देउवा असन्तुष्ट बनेको समाचार आएका थिए । तर, ती समाचारमा कुनै सत्यता नभएको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ ।

अर्थतन्त्र सुधारको लागि शर्माले काम गरिरहेको भन्दै प्रधानमन्त्री देउवाले यस्तो हल्लाको पछि नलाग्न र अझ धेरै प्रभावकारी काम गर्न अर्थमन्त्री शर्मालाई निर्देशनपनि दिईसकेका छन् । पछिल्लो समय प्रधानमन्त्री देउवा र प्रचण्डबीच अर्थमन्त्री हटाउनेबारे बाहिर चलेको हल्लाबारे छलफल भएको थियो । यसअघि केपी शर्मा ओलीकै पालाको सरकारदेखि मुलुकको अर्थतन्त्र समस्यामा परेको र अहिले त्यसलाई सुधार गर्ने काम भैरहेको बेलामा अर्थमन्त्रीमाथि प्रहार गर्नको लागि सुनियोजित हल्ला चलाईएकोमा दुवै नेता सहमत भएको जनाईएको छ ।

अर्थमन्त्री शर्माले मुलुक र जनताको अहित हुनेगरि कुनैपनि काम नगरेको अर्थ मन्त्रालयका अधिकारीहरुको दाबी छ । उनीहरुले बरु मन्त्री शर्माले देशको हितमा हुनेगरि काम गर्न थालेपछि केही मान्छेहरु संगठित रुपमा नै मन्त्रीलाई हटाउन लागिपरेको पनि दाबी गरेका छन् । मन्त्री शर्माको विगतदेखि वर्तमानसम्मको कार्यसम्पादन धेरै नै राम्रो रहेको अर्थतन्त्रसम्बन्धी जानकारहरुको टिप्पणी छ । ऊर्जा मन्त्रालयमा जस्तै सफल छवि बनाउनेगरि अहिले अर्थमन्त्रालयको कामकारबाही अघि बढिरहेको बेलामा उनलाई हटाउनको लागि एउटा गिरोह नै सक्रिय भएको पनि चर्चा छ ।