काठमाडौँ — युक्रेनले विभिन्न स्थानमा घाइते भएका आफ्ना नागरिकको उद्धारमा पनि रुसले अवरोध सिर्जना गरेको छ । युक्रेनमा रुसी सैनिकको हमलाबाट भौतिक संरचना र मानवीय क्षति भएको छ । हमलाबाट घाइतेको उद्धारमा रुस बाधक बनेको युक्रेनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले बताएका छन् । उनले रुसी सेनाले दक्षिण–पूर्वीसहरहरू घाइते भएका नागरिकलाई सुरक्षित स्थानमा लैजान खोज्दा निरन्तर गोलाबारी गरेको आरोप लगाए ।
युक्रेनको दक्षिण–पूर्वी सहर मरिपोलमा मानवीय सहायता र उद्धारका लागि आठवटा लोरी र ३० वटा बस बाटोमा रहेको युक्रेनी अधिकारीले जनाएका छन् । केही दिनयता ती क्षेत्रबाट नागरिकको उद्धाका लागि रुसले आंशिक युद्धविराम घोषणा गरेको छ । तर युक्रेनले रुसले निरन्तर हमला गरिरहेको आरोप लगाइरहेको छ । मरिपोल, समी र आरपिनबाट युक्रेनी नागरिक ज्यान जोगाउन भागदौड गरिरहेका छन् ।
संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार रुसी हमलामाको चपेटामा युक्रेनमा एक हजार दुई सय ७ गैरसैनिक परेका छन् । त्यसमध्ये चार सय ६ जनाको मृत्यु भएको र बाँकी घाइते भएको तथ्यांकमा उल्लेख छ । संयुक्त राष्ट्रसंघका अनुसार हालसम्म युक्रेन छोड्नेको संख्या २० लाख पुगेको छ । राष्ट्रसंघअन्तर्गतको शरणार्थीसम्बन्धी उच्च आयोगका आयुक्त पिलिपो ग्राण्डीले युक्रेन छोड्ने लहरले युरोपमा दोस्रो विश्वयुद्धपछिकै उच्च शरणार्थी संकट बढिरहेको बताएका छन् ।


प्रतिक्रिया