Breaking

महिलाको हक–अधिकारका लागि सबै लाग्नु पर्छ, उपराष्ट्रपति पुन


काठमाडौँ —अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सन्देश दिँदै उपराष्ट्रपति पुनले आजको दिनले नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने अपेक्षा गरेका छन् । महिला राजनीतिक, सामाजिक तथा आर्थिकरूपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव नभएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले महिलाको हक–अधिकारका लागि सबै लाग्नुपर्ने आग्रह गरेका छन् ।

उनले महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । संविधानले प्रत्येक महिलालाई लैंगिक भेद्भावविना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको बताउँदै उपराष्ट्रपति पुनले जनसंख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनुपर्नेमा जोड दिएका छन्।