देश

पल शाह प्रकरणमा युट्युबरको अराजकता, युट्युबरहरु प्रहरीको खोजीमा


काठमाडौँ — नायक तथा मोडल पल शाह पक्राउ परेपछि नाबालिग पीडितको व्यक्तिगत गोपनियता पनि भङ्ग हुने गरी युट्युमा सामाग्री प्रसारण गरेको तथा विचाराधीन मुद्दाको अनुसन्धान प्रक्रियालाई नै असर पार्न लागेपछि प्रेस काउन्सिल नेपाल, साइबर ब्यूरो र गृह मन्त्रालयले युट्युबरमाथि कारबाहि गर्न लागेको हो ।

पल शाह पक्राउ प्रकरणमा असम्बन्धित व्यक्तिहरूको भनाई लिने, बिना सेन्सर समाचार प्रसारण गर्ने र घटनालाई अतिरञ्जित बनाएको भन्दै प्रेस काउन्सिल नेपालले फागुन २० गते नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेख्दै १६ वटा युट्युब च्यानलमाथि अनुसन्धान र कारबाहीको माग गरेको थियो ।

सोही दिन साइबर ब्युरोले पनि एक विज्ञप्ति जारी गर्दै युट्युबरको अराजकताविरुद्ध कारबाहीको चेतावनी दिएको थियो । पल शाह पक्राउ प्रकरणपछि सन्तोष देउजा, अनुप भट्टराई लगायतका युट्युबरहरुको टोली तनहुँमै पुगेर ‘रिपोर्टिङ’ गरेका थिए । शाह प्रकरणमा पटकपटक पीडित नाबालिगको नामको प्रयोग गरिएको, घटना र तथ्यलाई तोडमोड गरिएको, पीडितमाथि झनै पीडा थपिने गरी सामाग्री उत्पादन तथा प्रसारण गरिएको छ ।

अनुसन्धानकै क्रममा रहेको विषयलाई प्रत्यक्ष प्रभाव पार्ने गरी सामाग्रीको प्रसारण गरिएको भन्दै उनीहरूमाथि कारबाहीको प्रक्रिया सुरु गरेको थियो । पत्रकारिताको न्यूनतम आचारसंहिता पनि पालना नगरी युट्युबमा जथाभाबी सामाग्री प्रसारण गरेको भन्दै प्रेस काउन्सिल र साइबर ब्युरोले खोजी सुरु गरेपछि युट्युबरको भागाभाग भएको छ ।