Breaking

बढी शुल्क असुलेको नोबेल मेडिकल कलेजलाई कारबाही गर्न सांसद्हरुद्धारा सरकारको ध्यानाकर्षण


काठमाडौँ — विद्यार्थीसँग बढी शुल्क असुलेको विराटनगर स्थित नोबेल मेडिकल कलेजमाथि कारबाही गर्न सांसद्हरुले सरकारको ध्यानाकर्षण गराएका छन् । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले पटक पटक ध्यानाकर्षण गराएपनि कलेजले अटेरी गरेकाले कारबाहीको विकल्प नरहेको बताए । सोमवार सिंहदरवारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपाध्यक्ष गिरीले विराटनगर स्थित नोबेल मेडिकल कलेजले विद्यार्थीहरुमाथि होस्टेलको बहानामा बढी पैसा लिएको सत्य भएको र पटक पटक ध्यानाकर्षण गराएपनि कलेजले अटेरी गरेको भन्दै अबको विकल्प कारबाही भएको बताए ।

उनले छात्रावास उचित भएपनि छात्रावासमा बस्न मात्रै विद्यार्थी भर्ना नभएको बताए । उनले छात्रावासमा नबसेकै कारण विद्यार्थीहरुलाई कलेजले पठनपाठनबाट वञ्चित गराउन नमिल्ने बताए । उपाध्यक्ष गिरीले कलेजलाई आयोगको तर्फबाट बारम्बार ध्यानाकर्षण गराएपनि कलेजले अपहेलना गरिरहेको भन्दै अबको विकल्प भनेको सिट नदिने वा सम्बन्धनको खारेजी गर्ने नै रहेको बताए । त्यस्तै आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले अहिलेको विदार्थीको विषय भनेको रकमको नभइ जीवनरक्षा, एकेडेमिक कुरा र छात्रावासको मात्र भएको बताए । उनले कलेजले छात्रावास अब अनिवार्य नगर्ने भनिसके पनि अटेर गरिरहेको बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले कलेजले पैसा बढी लिएको वा घटी लिएको भन्ने अधिकार सदस्य सचिवलाई नरहेको भन्दै आक्रोश व्यक्त गरे । उनले नियमभन्दा बाहिर गएर कलेजले विद्यार्थीहरुसँग पैसा असुलीरहेको भन्दै सदस्यसचिव काफ्लेलाई आफ्नो भनाइ फिर्ता लिन आग्रह गरे । उनले आयोगको सदस्यसचिवले अहिलेसम्म विद्यार्थीहरु अनसनमा आइसक्दासमेत उनीहरुको पीडा बुझ्न नसकेको भन्दै आयोगका पदाधिकारीले राजीनामा दिनुपर्ने माग गरे ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद एकवाल मियाँले विद्यार्थीहरुले त्यही कलेजमा पढ्न नसक्ने भन्दै उनीहरुको लागि सुरक्षित गन्तव्य खोज्नुपर्ने बताए । त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद हितबहदुर तामाङले विद्यार्थीहरुबाट धेरै पैसा असुलेको कुरा प्रष्ट भएको भन्दै कलेजलाई कारबाही गर्नुपर्ने माग गरे । उनले विद्यार्थीहरुले आफूमाथि बढी शुल्क लिएर गरेको अन्यायबिरुद्ध बोल्नु विद्यार्थीहरुको अधिकार भएको बताए ।

नोबेल मेडिकल कलेजको एमबिबिएस प्रथम वर्षका १० विद्यार्थीहरुले कलेजमा सुरक्षामा थ्रेट रहेको भन्दै काठमाडौंको माईतीघरमा रिले अनसनमा छन् । उनीहरुले कलेज स्थानान्तरणको माग सम्बोधन नभएको कारण गत पुस पहिलो साताबाट एमबिबिएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको र स्थानान्तरण नहुँदा आफ्नो पढाइ बिग्रिएको गुनासो गरेका छन् ।

भिडियो