काठमाडौँ — नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले टी प्लस टुमा सेटलमेन्ट नगरे ब्रोकरलाई तत्काल कारबाही गर्ने चेतावनी दिएका छन । उनले ब्रोकरहरुले लगानीकर्तालाई पैसा नदिने र अन्यत्र लगानी गर्ने गरेको पाइएका तत्काल कारबाही गर्ने समेत बताए । कार्यक्रमको अधिकांस समय ब्रोकर कम्पनी विरुद्ध खनिएका हमालले साना लगानीकर्ताको हितमा बोर्डले काम गर्नु पर्ने अबको आवश्यकता भएको बताए ।
उनले कसैले पनि साना लगानीकर्तालाई अफ्ठ्यारो पार्ने काम गरे तत्काल कारवाहि गर्ने चेतावनी दिए । अहिले लगानीकर्तालाई लागत बढी परेको स्वीकार गर्दै उनले शुल्क घटाउने विषयमा अध्ययन गर्ने समेत आश्वासन दिए । साथै, कसैले भित्री कारोवार यानिकी इन्साइडर ट्रेडिङ गरेको प्रमाणित भए तत्काल कारबाही गर्ने भन्दै ठुला लगानीकर्तालाई चेतावनी दिए । त्यस्तै अध्यक्ष हमालले धेरै नाफा कमाउने रियल स्टे«ड कम्पनीहरुलाई बुक विल्डिङ बाट आईपीओ जारी गर्न दिएर पुँजी बजारमा ल्याउने समेत बताए ।
उनले नेपालमा १२ सय भन्दा धेरै सरकारलाई राजश्व तिर्ने कम्पनीहरु नै नेप्सेमा सुचिकृत नभएकाले त्यस्ता कम्पनीलाई नेप्सेमा समावेश गर्न बोर्डले सहजिकरण गर्ने योजना रहेको पनि स्पस्ट पारे । कार्यक्रममा बोल्दै अध्यक्ष हमालले वित्तीय साक्षरता बढाउनको लागि क्यापिटल मार्केट सेन्टर नै खोल्ने तयारीमा बोर्ड लागेको जानकारी दिए । उनले अहिले १८.५ प्रतिशत वित्तीय साक्षरता रहेकोले त्यसलाई बढाउनु पर्ने आवश्यकता रहेको उल्लेख गरे ।
अध्यक्ष हमालले विदेशमा रहेका नेपालीलाई आइपीओमा आरक्षण दिने विषयमा पनि अध्ययन भइरहेको बताए । अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्सलाई रोक्नका लागि विदेशमा रहेका नेपालीलाई आइपीओमा आरक्षण दिनु आवश्यक रहेको उनको भनाई छ । त्यस्तै अध्यक्ष हमालले बैकलाई ब्रोकर लाइसेन्स दिने वा नदिने बिषयमा गहन अध्ययन गर्नु पर्ने बताए । त्यस्तै उनले टीएमएसमा देखिएको समस्या सामाधान गर्ने र अन्य गुनासो व्यवस्थापन गर्न एप बनाउने तयारीमा बोर्ड रहेको जानकारी समेत गराए ।
भिडियो


प्रतिक्रिया