देश

सर्वसाधारणलाई जागिर दिने भन्दै फारम भराएर पैसा उठाएको आरोपमा ९ जना पक्राउ


काठमाडौँ — काठमाडौँमा विभिन्न जब सेन्टरहरू स्थापना गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई राजधानीको विभिन्न ठााउबाट पक्राउ गरेको छ । कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक अमर पाण्डे, पेप्सीकोला बस्ने तिलकराम पाण्डे, बालाजुस्थित दूधपोखरी जब प्लेसमेन्ट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक आनन्द मरहठ्ठा, कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक विवेक यादव रहेका छन् ।

यसैगरी, अन्य पक्राउ पर्नेमा काठमाडौं ३२ एबिएस जब ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक अश्विन राई, सिन्धु रोजगारी सेवा कोटेश्वरका सञ्चालक घनश्याम पहाडी, चाबहिलस्थित प्राश्ना जब इन्टरनेसनल मल्टिपर्पोज प्रालिकी सञ्चालिका सिर्जना लामिछाने, क्वीकमाण्डु एमपी प्रालिकी सञ्चालिका ज्ञानु न्यौपाने र अनमोल जब मल्टिपल प्रालि कोटेश्वरका सञ्चालक रामवचन कुमार यादव छन् । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार उनीहरूले सामाजिक सञ्जाल, पत्रपत्रिका र पम्प्लेटमा ‘घरमै बसेर जागिर मिल्छ’ भनी प्रचारप्रसार गर्ने गर्थे ।

जागिरका लागि उनीहरूले फारम भर्ने बहानामा तीन सयदेखि पाँच सय रुपैयाँसम्म, कामको ग्यारेन्टी भन्दै एकदेखि ६ हजारसम्म रकम लिने गरेका थिए। सर्वसाधारणबाट त्यसरी पैसा लिएपछि उनीहरू कोही भाग्ने, कसैलाई काममा लगाउने र लगाइहाले पनि तोकिएको तलब सुविधा नदिई केही समयमै जागिर छोड्न बाध्य बनाउने गरेको पाइएको कुँवर बताउँछन् । कुनै एक जब सेन्टरमा फारम भर्दा दर्ता गरिसकेको व्यक्तिलाई तपाईंको जागिर पक्का भइसकेको छ भनी एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाएर त्यहाँसमेत फारम शुल्क असुल्ने गरेको पाइएको छ ।