देश

विवादका कारण कांग्रेस सर्लाहीको निर्वाचन स्थगित


काठमाडौँ — नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । आन्तरिक विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिए ।

उनका अनुसार आज बिहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन दिउँसो १ः१५ बजे सूचना टाँसेर स्थगित गरिएको हो। निर्वाचन स्थगित भएपछि मतदानस्थल पब्लिक माध्यमिक विद्यालय बाहिर कांग्रेसका स्थानीय नेता कार्यकर्ताले नाराबाजी गरेका थिए । आज हुने भनिएको निर्वाचनका लागि सर्लाहीका २० स्थानीय निकायका २०० वडाबाट छानिएका क्षेत्रीय प्रतिनिधि मतदानस्थलमा पुगेका थिए । पदाधिकारी र सदस्य गरी ९३ जना चयन गर्न जिल्लामा तीन हजार २८७ जना क्षेत्रीय प्रतिनिधि अर्थात् मतदाता रहेका छन् ।