राजनीति

प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन, युक्रेनलाई समर्थन गरेकोबारे चासो


काठमाडौँ — अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलबार राति टेलिफोन कुराकानी भएको छ ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएको दुई दिनपछि ब्लिन्कन र देउवाबीच टेलीफोन संवाद भएको हो ।

ब्लिनकनले टुइटरमा जनाएअनुसार उनीहरूबीच रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको हो ।

त्यस्तै नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोबारे समेत आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री ब्लिन्कनले संकेत गरेका छन् । ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीबारे नजिक रहेर निरन्तर काम गर्नेछौं’, विदेशमन्त्री ब्लिन्कनले ट्विट गरेका छन् ।

प्रधानमन्त्री देउवाको सचिवालयले भने उक्त कुराकानीबारे जानकारी सार्वजनिक गरिसकेको छैन ।