विदेश

युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल


काठमाडौँ – युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल भएको छ । रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषद्का १५ मध्ये ११ देशले मतदान गरेका थिए । प्रस्ताव पारित हुनका लागि ९ देशको मत परे हुने थियो । तर, रुसले भिटो प्रयोग गरेर प्रस्ताव विफल पारेको हो ।

रुससहित अमेरिका, बेलायत, फ्रान्स र चीन सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । उनीहरुमाथि भिटो शक्ति छ । रुसले आफ्नो निन्दा गरिएको प्रस्ताव विफल पार्नका लागि भिटो प्रयोग गरेको हो । प्रस्तावमाथि मतदान हुँदा भारत, चीन र युएई अनुपस्थित रहे । उनीहरु युक्रेनमाथि भइरहेको रुसी आक्रमणमा रुसको पक्षमा देखिएका छन् ।

यसैबीच, रुसले युक्रेनमाथि आक्रमण जारी राख्दा युक्रेनले युद्ध बिरामको प्रस्ताव गरेको छ । रुसी सेना राजधानी किभमा पुगेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग युद्ध बिरामको प्रस्ताव गरेका हुन् ।

राष्ट्रपतिका प्रवक्ताले युद्ध बिराम र तत्काल शान्ति वार्ताका लागि जेलेन्स्की तयार रहेको बताएका छन् । तर‚ रुसले भने युक्रेनमाथि निरन्तर आक्रमण जारी राखेको छ ।