विदेश

युक्रेनमाथि रुसको मिसाइल आक्रमण


काठमाडौँ — युक्रेनमाथि रुसले मिसाइल आक्रमण सुरु गरेको छ । बीबीसीका अनुसार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मिसाइल आक्रमण भएको पुष्टि गरेका हुन् ।

उनले रुसले युक्रेनको विभिन्न पूर्वाधार तथा सीमा सुरक्षाकर्मीमाथि मिसाइल आक्रमण गरेको पुष्टि गरेका हुन् । उनले राष्ट्रिय सुरक्षा परिषद्लाई सैन्य कानुन घोषणा गर्न आग्रह गरेका छन् । यस विषयमा निर्णय गर्न युक्रेनको सुरक्षा परिषद्को बैठक बस्दै छ ।

यसअघि विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले पूर्ण क्षमतासहितको आक्रमण सुरु गरेको बताएका थिए । सामाजिक सञ्जाल ट्वीटरमार्फत रुसले पूर्ण क्षमतासहितको आक्रमण सुरु गरेको बताएका हुन् ।

उनले भनेका छन्, ‘शान्तिपूर्ण युक्रेनका सहरमा अहिले आक्रमण भएको छ। यो आक्रामक युद्ध हो । युक्रेन आफैंले यसको सामना गर्नेछ र जित्नेछ पनि ।’

‘विश्व समुदायले पुटिनलाई रोक्नुपर्छ र त्यसको लागि अहिले नै आवश्यक कदम चाल्नुपर्छ’, उनले भनेका छन् ।