विदेश

युक्रेन–रुस तनाव थप चुलिँदै, अमेरिकाद्वारा युक्रेनलाई थप हतियार दिने वाचा


काठमाडौँ – युक्रेन र रुसबीच थप तनावको स्थिति सिर्जना भएको छ । युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्ध बलियो रहेको बताउँदै प्रशंसा गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका उनले अमेरिकी अधिकारीहरूले आफूहरूलाई थप हतियार उपलब्ध गराउने वाचा गरेको बताएका छन् । रुसको पछिल्लो कदमविरुद्ध अमेरिकाले विभिन्न प्रतिबन्धको घोषणा गरेको छ ।

रुसले क्राइमिया गाभ्दा अमेरिकाले लगाएको प्रतिबन्धभन्दा यो निकै धेरै रहेको अमेरिकी राष्ट्रपतिले बताएका छन् । अमेरिकाले ८० अर्ब डलरको सम्पत्ति रहेका दुई ठूला रुसी ब्यांकको व्यापारमा रोक लगाउने घोषणा गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसी समकक्षीसँग तय भएको बैठक आफूले रद्द गरेको बताएका छन् । तर तनाव व्यवस्थापनका लागि आफूहरूले अमेरिकी सेना नै युक्रेनमा परिचालित हुन् भन्ने नचाहेको युक्रेनका विदेशमन्त्रीले बताएका छन् ।