देश

पतिको हत्या गर्ने पत्नी र प्रेमी पक्राउ


काठमाडौँ – दाङमा श्रीमान्‍को हत्या गरेको आरोपमा श्रीमती र उनको प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लको राप्ती गाउँपालिका वडा नं.३ बसन्तपुरकी ५० वर्षीया उमादेवी चौधरी र गढवा गाउँपालिका वडा नं.३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरी रहेको प्रहरीले जनाएको छ ।

उमादेवीले आफ्नो श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी गएको फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा नभएको भन्दै श्रीमानको खोजतलासको लागि फागुन ५ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । खोजतलास गर्ने क्रममा प्रहरीले फागुन ५ गते बेलुका ६ गढवा गाउँपालिका वडा नं.२ कोठरीको राप्ती नदीमा चौधरीको शव फेला पारेको थियो ।

घटना शङ्कास्पद रहेपछि प्रहरीले उमादेवीलाई सोधपुछ गर्दा मसुरियाका हनुमान चौधरीसँग अवैध प्रेम सम्बन्ध रहेको भनी श्रीमान्ले बेइज्जत गरेकाले हत्या गरेको स्वीकार गरेको थिइन् ।

योजना अनुसार हनुमानले माघ २९ गते राति लप्टेनको घरमा आएर उनलाई मुड्कीले हानेर घाँटी च्यापेर हत्या गरेको र मृत शरीर बोकेर राप्ती नदीमा फालेको प्रहरीको भनाइ छ ।