विदेश

युक्रेनको सिमानाबाट केही सैनिक फिर्ता गर्ने रुसको घोषणा


काठमाडौँ – रुसले युक्रेनको सीमा क्षेत्रमा तैनाथ गरिएका केही सैनिक हटाउने घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले आफ्नो सैनिक अभ्यास जारी रहे पनि सिमानाबाट केही टुकडी फर्काउने बताएको बीबीसीले जनाएको छ ।

युक्रेनले रुसको कुरामा विश्वास गरिहाल्ने अवस्था नरहेको प्रतिक्रिया दिएको छ । रुसी सैनिक सिमानाबाट फिर्ता भएको नदेखेसम्म उसको कुरामा विश्वास गर्न नसकिने युक्रेनको भनाइ छ । नेटोले पनि रुसी सैनिक सिमानाबाट फिर्ता गर्ने कुराको पुष्टि हुने प्रमाण नभेटिएको जनाएको छ ।

रुसले युक्रेनको सीमा क्षेत्रमा आफ्ना सैनिक खटाएपछि अमेरिका लगायतका देशहरूले तीव्र आलोचना गरेका थिए । रुसले युक्रेनमा आक्रमणको तयारी गरेको भन्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई युक्रेन छाड्न भनेको थियो । यद्यपि रुसले सुरुदेखि नै युक्रेनमा आक्रमणको योजना नरहेको भन्दै अमेरिकाले लगाएको आरोपको खण्डन गर्दै आएको छ ।