नेकपा एमाले

‘सरकारले छापामार शैलीमा बजेट ल्यायो ‘

योहो संवाददाता

काठमाडौँ – नेकपा एमालेले सरकारले बलमिचाइँ तवरले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको आरोप लगाएको छ । सरकारले बजेट ल्याउँदा प्रतिपक्षीसँग आवश्यक सहकार्य गर्नु पर्ने भए पनि हठात् छापामार शैलीमा बजेट ल्याएको भन्दै त्यसप्रति आरोप लगाएको हो ।

“सरकारको तर्फबाट प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट प्रस्तुत गर्ने काम भयो । यो बिल्कुलै असंसदीय काम भयो । यो सत्तापक्षको बलमिचाइँ भयो भन्ने हाम्रो निष्कर्ष छ,” उनले भने, “बजेटजस्तो कुरा ल्याउँदा संसद्मा सूचना दिनुपर्ने हुन्छ । प्रतिपक्षी दलसँग आवश्यक सहकार्य गर्नुपर्ने हुन्छ । त्यो कुनै पनि कुरा नगरीकन हठात् छापामार शैलीमा प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याइयो ।” शनिबार च्यासलमा बसेको स्थायी कमिटीको बैठकले पार्टीको विरोधका बीच सरकारले असंसदीय काम गरेको भन्दै एमालेले आपत्ति जनाएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

यस्तै, एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई सत्तापक्षको प्रतिनिधिजस्तो भएर काम गरिरहेको आरोप पनि लगाएको छ । सभामुखले भूमिका निर्वाह गर्न नसकेको आरोप एमालेको छ ।